काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको बालुवाटार स्रोतले बताएको छ।
स्रोतका अनुसार बैठकका एजेण्डा भने खुलाइएको छैन तर नियमित बैठक भएकाले आजको बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत छलफल र निर्णय हुन सक्ने बुझिन्छ । यसअघि मन्त्रिपरिषद्को नियमति बैठक सोमबार बस्ने गरेको भएपनि प्रधानमन्त्री ओलीले एक दिनअघि नै बैठक बोलाएका छन् ।कोरोना रोकथामका लागि सिसिएमसीले गरेका सिफारिस आजको मन्त्रिपरिषद् बैठकले पारित गर्ने छ ।
सीसीएमसीले कोरोनाभाइरसबाट अति प्रभावित १० मुलुकबाट नेपालसँग हुने सीधा अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।सीसीएमसीको शुक्रबार बेलुका बसेको बैठकले मुलुकभित्र कोरोनाको संक्रमण डढेलो सरी फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक उडानसमेत बन्द गर्न सिफारिस गरेको छ भने निषेधाज्ञालाई थप कडा गर्ने निर्णय पनि गरेको छ ।
सीसीएमसीको बैठकले कोरोना अतिप्रभावित मुलुकहरु भारत, बेलायतसहित१० मुलुकबाट नेपालमा हुने उडानलाई रोक लगाउन सिफारिस गरेको हो । तर, ट्रान्जिट हुँदै आउने विमान भने नरोकिने जनाइएको छ ।

















