जनकपुरधाम । एक महिलाले देवरसँग मिलेर श्रीमानको हत्या गरेकी छन्। धनुषाको हंसपुर नगरपालिका वडा नं ६ टिल्हीका बद्री मण्डलका ३५ वर्षीय छोरा शम्भु मण्डलको हत्या भएको हो।
स्थानीय २७ वर्षीया सुशीलादेवी मण्डलले दुई देवर सञ्जय र अनिल मण्डलसँग मिलेर पतिको हत्या गरेको धनुषाका प्रहरी नायब उपरीक्षक ( डीएसपी ) मकेन्द्रकुमार मिश्रले जानकारी दिए । सञ्जय र अनिल शम्भु मण्डलका माइला र कान्छो भाइ हुन् ।
उनका अनुसार शुक्रबार राति करिब २ बजे तीन जना मिलेर घरमै शम्भुको हत्या गरेका हुन्। मोबाइलका तीनवटा चार्जरको तारले घाँटी कसेर र छुराले रेटेर हत्या गरेको शवको प्रकृतिले देखिएको छ। घटनापश्चात् तीनैजना फरार भएका छन् ।
डीएसपी मिश्रका अनुसार राति २ बजे घटना भए पनि प्रहरीमा एक घण्टा ढिला जानकारी आएकाले राति ३ बजे मात्र इलाका प्रहरी कार्यालय (औरही)को टोली घटनास्थल पुगेको थियो । पोस्टमार्टमका लागि शम्भुको शव प्रादेशिक अस्पताल जनकपुर ल्याइएको धनुषा प्रहरीले जनाएको छ। प्रहरीले घरायसी विवादमा हत्या भएको बताएको छ। तर स्थानीयले देवरसँगको अनैतिक सम्बन्धका कारण सुशीलाले योजनाबद्ध तरिकाले पतिको हत्या गरेको दाबी गरेका छन्।
