काठमाडौं । नेपाल प्रहरीले डीआइजीहरुको सरुवा तयारी गरेको छ । एक बर्ष अवधि पुगेका डीआइजीहरुको बैशाखको सुरुमै सरुवा गर्ने तयारीमा गृहमन्त्रालय थियो । तर प्रहरी प्रधान कार्यालयकै कारण सरुवामा बिलम्ब हुँदैआएको छ । १ नम्बरका डीआइजी इश्वर कार्की, २ नम्बरका धिरजप्रताप सिंह, बागमती प्रदेशका बसन्तकुमार लामा, गण्डकीका घनश्याम अर्याल, लुम्बिनीका रविन्द्रबहादुर धानुकको एक बर्ष अवधि पुगिसकेको छ ।
त्यसैगरी कर्णाली प्रदेशका वसन्त पन्त, सुदूरपश्चिम प्रदेशका उत्तम सुवेदी र केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी) सहकुलबहादुर थापाकोे पनि एक बर्ष पुगिसकेको छ । १ नम्बरका डीआइजी कार्कीले कमाण्ड गर्न नसकेको गुनासो आए पनि आइजीपी शैलेश थापा क्षेत्रीले १ बर्ष अवधि नपुगी सरुवा नगर्ने अडान लिएकाले उनी बीचमा तानिनबाट जोगिएका थिए ।
२ नम्बर प्रदेशका डीआइजी धिरजप्रताप सिंह, सुदूरपश्चिम प्रदेशका उत्तम सुवेदी र लुम्बिनी प्रदेशका रविन्द्रबहादुर धानुकसमेत ३ जनाले सीआइबीको प्रमुखमा सरुवा हुन लबिईङ गरिरहेका छन् ।
आइजीपी थापा सीआइबीमा उत्तम सुवेदीलाई ल्याउने पक्षमा छन् । उनको जोड चलेमा सुवेदीकै पल्ला भारी हुने देखिन्छ । सुवेदीले भागरथा भट्ट बलात्कार प्रकरणमा दोषीलाई पक्राउ गरी निर्मला पन्तको जस्तो बदनाम हुनबाट प्रहरी संगठनलाई जोगाउने काम गरेकाले पनि आइजीपी थापा उनको कामबाट प्रभावित छन् । तत्कालीन आइजीपी सर्वेन्द्र खनाल निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई पक्राउ गर्न नसकेको कलंकको टीका लगाए अवकाश भएका थिए । तर हालका आइजीपी थापा सफल कमाण्डर सुवेदीका कारण त्यस्तो बदनाम हुनबाट जोगिएका छन् ।
त्यसैगरी, सीआइबीका प्रमुख सहकुल थापा १ नम्बर प्रदेश वा लुम्बिनी प्रदेशमध्ये एकमा सरुवा हुन खोजिरहेका छन् । तर आइजीपी थापा भने उनलाई २ नम्बर प्रदेशमा पठाउने पक्षमा छन् । आइजीपी थापा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डीआइजी अरुणकुमार बीसीलाई १ नम्बरमा पठाउन चाहिरहेका छन् । १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई प्रहरी प्रधान कार्यालयका दिवेश लोहनीलाई पठाउने पक्षमा छन् ।
प्रहरी प्रधान कार्यालय अन्वेषण निर्देशनालयका मुकुन्द आचार्यले यसअघि नै धानुकलाई बीचमै सरुवा गराउने र लुम्बिनी प्रदेशमा सरुवा हुनका लागि दौडधूप गर्दैआएका थिए । आइजीपी लुम्बिनी प्रदेशमा गणेश ऐरलाई पठाउन खोजिरहेका छन् । तर डीआइजी आचार्यले लुम्बिनीमा जान अर्थमन्त्री बिष्णुप्रसाद पौडेलकै फेरो समाएर लागेका छन् । दिवेश लोहनी १ नम्बरमा नभए गण्डकी प्रदेशमा सरुवा हुने निश्चित जस्तै छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !