बैशाख । २ नं. प्रदेश प्रहरी कार्यालयले गएको एक हप्तामा मास्क नलगाउने मानिसहरुबाट जरिवानास्वरुप साढे तिन लाखभन्दा बढी राजस्व संकलन गरेको २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डिआइजी धिरज प्रताप सिंहले जानकारी गराएका छन् ।
२ नं. प्रदेश प्रहरी कार्यालयको सूचना संकलन तथा सम्प्रेषण शाखाका प्रवक्ता एवम् सूचना अधिकारी कृष्ण प्रसाईका अनुसार जरिवानास्वरुप ३ लाख ५२ हजार ४ सय राजस्व संकलन गरिएको हो । प्रहरीले कोभिड नियन्त्रणका लागि वैशाख १ गतेदेखि नै विशेषतः सार्वजनिक स्थान/सवारी साधनहरुमा मास्क प्रयोग नगरी हिंड्ने व्यक्तिहरुबाट उक्त राजस्व उठेको हो । उनीहरुलाई संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार कारबाही गर्न भनी वैशाख ४ गतेसम्म ४७० पटकसम्म प्रचार प्रसार/माइकिङ र सूचना प्रसारण गरेर सचेतना गराएको प्रवक्ता प्रसाईले जानकारी दिए ।
२ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डिआइजी धिरजप्रताप सिंहको नेतृत्वमा प्रहरीले रोग नियन्त्रणको लागि आक्रामक योजना अगाडि बढाइरहेको छ । प्रहरीले वैशाख ४ गतेबाट ११ गतेसम्म क्रमशः ३ घण्टा होल्डिङ गरी ४४ हजार ४ सय ५१ जनालाई सम्झाई बुझाई छोडिएको, १६ हजार ९ सय ६९ जना व्यक्तिहरुलाई होल्डिङ गरी मास्क वितरण गरि छाडिएको छ ।
हालसम्म ३ हजार ५२४ जनालाई संक्रामक रोग निवारण ऐन २०२० बमोजिम सम्बन्धित जिल्ला प्रशासनसँग समन्वय गरी प्रतिव्यक्ति एक सयका दरले जरिवाना गराई ३ लाख ५२ हजार ४ सय राजस्व समेत संकलन गरिएको प्रवक्ता प्रसाईले जानकारी दिए ।
‘यसरी नेपाल सरकारद्वारा तोकिएको मापदण्डलाई पुर्ण रुपमा पालना गराउन सबैपक्षको आ-आफ्नो तर्फबाट महत्वपूर्ण भुमिका हुने भएकोले विशेष गरि रेस्टुरेन्ट, पार्टी प्यालेस एवं सभा सम्मेलन अर्थात मानिसहरूको बढी भिडभाड हुने क्षेत्रहरूमा स्वास्थ्य मापदण्ड पालना गरि २५ जनाभन्दा बढी भेला जम्मा हुन् नपाउने हुदा अनिवार्य नियमको पालना गर्नुहुन २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर हार्दिक अपिल गर्दछ,’ डिआइजी धिरज प्रताप सिंहले बताए ।
डिआइजी सिंहका अनुसार, ‘नेपाल सरकारद्वारा तोकिएको मापदण्डलाई विभिन्न बहानामा अटेर गरी नियमको पालना नगरेमा कडाइका साथ संक्रमण रोग निवारण ऐन २०२० अनुसार अनिवार्य कारबाही भइ जाने समेत सबैमा सुचित गरिएको उनले जनाए ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !