काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओली पार्टी फुटाएर जान लागेको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित एक साक्षात्कारमा बोल्दै उनले आफूहरु नभई ओली नै पार्टी फुटाएर जान लागेको बताएका हुन् ।‘ओलीजी पार्टी फुटाएर जाँदै हुनुहुन्छ,’रावलले भने, ‘पार्टी फुटाएर गएमा निर्णायक कदम चाल्छौँ ।’ उनले आफूहरु कुनै हालतमा एमालेबाट नभाग्ने स्पष्ट पारे ।
कसैको धम्कीबाट नडराउने बताउँदै एमालेको आफूहरु निर्वाचित पदाधिकारी भएको बताए । नवौं महाधिवेशनको म्यान्डेट अनुसार ओली अध्यक्ष भएको र आफूहरु पनि पदाधिकारी भएको उनले बताए । रावलले भने, ‘हामी नेकपा एमालेमा टाँस्सिएका होइनौं, निर्वाचित पदाधिकारी हौं ।’
कुनै व्यक्तिले हटाउँदैमा आफूहरुको सांसद पद नजाने रावलले जिकिर गरे । सांसद पद जाने गरी विधि विधान विपरित कार्य नगरेकाले अध्यक्ष ओलीले पदमुक्त गर्न नसक्ने उनले तर्क गरे । ‘कुनै व्यक्तिले हटाउँदैमा हाम्रो सांसद पद जाँदैन’ ओलीलाई चुनौती दिँदै रावलले भने, ‘सांसद पदबाट मुक्त हुन संविधानले स्पष्ट रुपमा विधि तोकेको छ भन्ने हेक्का होस् ।’
विधि र विधान विपरित कसैले पदबाट हटाउँदैमा नहट्ने तर्क गर्दै ओलीको गतिविधि नेकपा एमाले विभाजनको दिशातर्फ बढिरहेको आरोप लगाए । उनले सांसद पदबाट आफूहरु हट्न राजीनामा दिनुपर्ने, दल त्याग गर्नुपर्ने, ह्वीप उल्लंघन गरेको हुनुपर्ने उल्लेख गरे । उनले भने,‘हामीले सांसद पदबाट हट्नुपर्ने कुनै त्यस्तो कार्य गरेका छैनौं, कसैले हटाएर हट्दैनौँ ।’
आफूहरुले अलग पार्टी बनाएको आरोप हाँस्यास्पद भएको समेत उनको भनाई थियो । उनले भने, ‘अलग पार्टी चलाएको र सञ्चालन गरेका छैनौं ।’ ओलीले सहमतिका लागि भन्दै माधवकुमार नेपालसँग गरेको दुई चरणको भेटलाई भ्रम छर्ने रणनीतिको संज्ञा रावलले दिए । कार्यकर्तामाझ मिलाउन खोजेको थिएँ भनि भ्रम छर्न ओलीले नेताहरुसँग पछिल्लो समय भेटवार्ता गरेको उनले सुनाए ।
ओलीले गठन गरेको स्थायी कमिटी र महाधिवेशन आयोजक कमिटीलाई अवैधानिक संज्ञा दिँदै रावलले अवैधानिक कमिटी बनाएर गरिएको बैठक अवैधानिक नै हुने तर्क गरे ।
