नयाँदिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किङ्ग्सले दोस्रो जित निकालेको छ । सोमबार साँझ भएको खेलमा चेन्नईले राजस्थान रोयल्सलाई ४५ रनले पराजित गरेको हो । जितका लागि १ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय रन ४३ मात्र बनायो ।
राजस्थानका जस बटलरले सर्वाधिक ४९ रन जोडे । उनले ३५ बलमा ५ चौका र २ छक्का प्रहार गरेका थिए । जयदेव उनादकटले १७ बलमा २ चौका र एक छक्कासहित २४ रन बनाए ।
त्यस्तै राहुल टेवाटियाले २०, शिवम दुबे १७, मनन बोहराले १४ रन जोडे । चेतन साकरिया र मुस्तफिजुर रहमान शुन्य रनमै आउट भए ।बलिङतर्फ चन्नईका मोईन अलीले तीन विकेट लिए । साम करन र रबिन्द्र जडेजाले दुई विकेट लिए । ड्वेन ब्रावो र शार्दुर ठाकुरले १-१ विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो ।
यो जितसँगै चेन्नई ३ खेलमा २ मा जित र १ मा हार सहित चार अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । रोयल च्यालेन्जर्स बेंगलोर ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । दिल्ली र मुम्बईको समान ३ खेलमा २-२ मा जित र १-१ मा हारका साथ समान ४ अंक भएपनि नेट रनरेटले दिल्ली तेस्रो र मुम्बई चौथो स्थानमा छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !