एजेन्सी । उपचारमा ध्यान नदिए रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक एलेक्सी नभाल्नीको ‘केही दिनभित्र ज्यान जान सक्ने’ चिकित्सकहरूले चेतावनी दिएका छन् । रुसी विपक्षी अभियानकर्मी नभाल्नी अहिले जेलमा छन् ।
चिकित्सकहरू अनुसार हालै गरिएका रगत परीक्षणका नतिजाले उनी हृदयाघात अथवा मिर्गौलाले काम गर्न नसक्ने अवस्थाको शिकार हुन सक्ने देखाएको बीबीसीले जनाएको छ ।ढाड तथा खुट्टासम्बन्धी समस्याको पूर्ण उपचारको माग गर्दै विगत १८ दिनदेखि नभाल्नी अनशनरत छन् । रुसी पुटिनका कटु आलोचक नभाल्नीलाई आर्थिक हिनामिनासम्बन्धी पुराना अभियोगहरूमा गत फेब्रअरी महिनामा जेल पठाइएको थियो ।
तत्काल नभाल्नीलाई हेर्ने अनुमति माग्दै उनकी निजी चिकित्सक डा अनास्तासिआ भसिलिएभासहित चारजना चिकित्सकले कारागार अधिकारीहरूलाई पत्र लेखेका छन् ।डा भसिलिएभाले सामाजिक सञ्जाल ट्विटरमा पोस्ट गरेको पत्रमा विज्ञहरूका अनुसार नभाल्नीको शरीरमा पोटासियमको मात्रा गम्भीर तह रहेको उल्लेख गरेका छन् ।
रगतमा पोटासियमको तह प्रतिलिटर ६.० मिलिमोल्सभन्दा बढी भएपछि सम्बन्धित मान्छेलाई तत्काल उपचार गराउनुपर्ने हुन्छ। नभाल्नीका वकिलहरूमार्फत् उपलब्ध गराइएको रगत परीक्षणको नतिजाअनुसार उनको रगतमा पोटासियमको तह प्रतिलिटर ७.१ रहेको पत्रमा उल्लेख छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !