काठमाडौं । उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का बरिस्ठ नेता ईश्वर पोखरेलले वर्तमान ओली सरकार ढाल्ने खेल सुरु भइरहेको भन्दै सबै जनता प्रतिवादमा उत्रिनुपर्ने बेला आएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले सरकार ढाल्ने खेल भइरहेको भन्दै उक्त गलत क्रियाकलापविरुद्ध सबै जनता प्रतिवादमा उत्रिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘बीचमा नै अनेक खालको जालझेल गरेर सरकार ढाल्ने फेरि नयाँ बनाउने, नयाँ खेलोमेलो गर्ने काम शुरू भयो भने यसले दुर्भाग्य निम्त्याउँछ । विकास र निर्माणका काम पनि रोकिन्छन् । समाजमा भद्रगोल सिर्जना हुन्छ । अहिले पनि राजनीतिक क्षेत्रमा विकृतिहरू, विसंगतिहरू देखा पर्न खोज्दैछ । सरकार ढाल्ने, सरकार ढाल्ने खेलमा लाग्ने ।
राजनीतिक र सामाजिक क्षेत्रका नराम्रा कुराको विरोध गर्नु जरुरी छ ।’ सही कुराको पक्षमा गलत कुराको विरुद्धमा सबै जनताले खबरदारी गर्नुपर्ने पनि उहाँले बताउनुभएको छ । ‘यो काम पनि हामीहरूबाट होस् भन्ने कुरा म अनुरोध गर्न चाहन्छु । जनतामा निराशा फैलाउने र अस्तव्यस्तता सिर्जना गर्ने प्रयास भयो भने यो राम्रो हुँदैन,’ उहाँले भन्नुभयो, ‘सधैँ बस्छु भनेर हिजो निरंकुश राजाको बेलामा जस्तो त होइन । एउटा अवधिसम्म बस्ने हो । त्यो अवधिसम्म राम्रो काम गर्यो भने जनताले पुरस्कृत गर्छन्, राम्रो काम भएन भने जनताले दण्डित गर्छन् । यसलाई त हामीले मानेको हो नि !’
जनताले सही र गलत क्रियाकलाप छुट्याएर हर क्षेत्रमा देखिएको गलत कार्यविरुद्ध प्रतिवाद गर्नुपर्ने पनि उहाँको जोड रहेको छ । निश्चित समयावधिसम्मका लागि निर्वाचित भएर आएको सरकार बीचमै ढाल्ने प्रयास भए मुलुक र जनताका लागि ठूलो दुर्भाग्य हुने पनि उहाँले बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !