काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार (आज) भएको छलफल सकारात्मक रहेको बताइएको छ ।
दिउँसो प्रधानमन्त्री ओली र अध्यक्ष ठाकुरबीच छुट्टाछुट्टै कुराकानी भएको थियो । सो छलफलपछि साँझ पुनःकार्यदलस्तरमा विचारविमर्श भएको हो । भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको र सकारात्मक रहेको कार्यदलका सदस्यसमेत रहेका प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभयो ।
जसपाले कारागारमा रहेका सांसद रेशम चौधरीको रिहाइ, टीकापुरलगायत अन्य घटनामा मुद्दा चलेकाको मुद्दा फिर्तालगायतका माग राख्दै आएको छ । कार्यदलमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भट्टराई सदस्य छन् ।
यस्तै यता जसपाका नेता सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण जसपाकातर्फबाट कार्यदलमा सदस्य छन् । अहिलेको त्रिशंकु संसदमा ३४ सिट जसपा निर्णायक खेलाडीका रुपमा रहेको छ । सरकार र विपक्ष गठबन्धन दुवैतिर कुराकानी जारी राखेको जसपाले कता जाने ? भनेर अहिलेसम्म संस्थागत निर्णय भने लिएको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !