लाहान । सिरहाको लहान नगरपालिका वडा नम्बर – २२ स्थितमा रहेको ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थल सलहेश फुलबारीमा आजैका दिन मात्र फुल्ने फुल हेर्न श्रद्धालु भक्तजनहरुको विहानैदेखि ठूलो भीड लागेको छ ।
प्रेम प्रतिकको रुपमा रहेको प्रत्येक नयाँ वर्षको दिन फुल्ने फुल हेर्न र भाकल पूरा हुने जनविश्वासको कारण दुर दराजको ठाउँबाट आजकै दिन श्रद्धालु भक्तजनहरु ओइरिने गरिएको हो ।
सलहेश गाथामा उल्लेख भएअनुसार सोह्र शताब्दीको लोकनायक सलहेश र विराट राजाकी छोरी मालिनीबीच प्रगाढ प्रेम सम्बन्ध रही प्रेम असफल भएपछि मालिनीको सम्झनामा माला झण्ड्याइदिएकोले प्रेम प्रतिक स्वरुप नयाँ वर्षको दिन फुल्ने गरेको बताइएको छ ।
तराईका दुसाद जातिका इष्टदेव मानिने सलहेशको पूजा अराधना गर्नाले मनोकांक्षा, आरोग्यता, सन्तान प्राप्ति, चर्मरोग निको हुने जनविश्वासका कारणसिरहा, सप्तरी, धनुषा, सुनसरी लगायत भारतको विहारबाट हजारौंको संख्यामा भक्तजनहरुको ओइरो लाग्ने गरेको हो ।
१२ विघा क्षेत्रफलमा फैलिएको सलहेश फुलबारी मेला गत वर्ष कोरोना संक्रमणको कारण मेला लागेनन् । यस वर्ष पनि जिल्ला प्रशासन कार्यालयले मेला नलगाउन पत्राचार गरेपनि जिल्ला प्रशासनलाई वेवास्ता गर्दै मेला लागेका हुन् । यद्यपि विगतको तुलनामा मेला भर्न आउनेहरुको संख्यामा कमी आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !