कर्णली । कर्णाली प्रदेशका मन्त्रीहरूले दिएको राजीनामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज शनिबार स्वीकृत गर्नुभएको छ । मंगलबार नेकपा एमालेको माधव नेपाल–भलनाथ खनाल समूहका तीनजना मन्त्रीले बुझाएको राजीनामा पत्र मुख्यमन्त्री शाहीले स्वीकृत गर्नुभएको हो ।
गत मंगलबार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढो मुख्यमन्त्री शाहीसमक्ष राजीनामा पत्र बुझाउनुभएको हो ।
मुख्यमन्त्री शाहीले खाली रहेका मन्त्रालयको पदपूर्ति गर्नुभएको छ । मन्त्रीले राजीनामा दिएसँगै खाली रहेको उक्त मन्त्रालयको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीलाई दिनुभएको छ ।
मन्त्री भण्डारीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ भने भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी मन्त्री केसीलाई दिइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !