काठमाडौं । शनिबार निजामती कर्मचारीलाई नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना थुप्रै गुनासा र सरकारले गरेका अनैतिक कामहरुको समीक्षा गर्नुभएको छ । यसका साथै सरकारले ट्रेड युनियनलाई खारेजसँगै दास बनाएर गुट अधिनस्थ बनाएको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो ।
शनिबार नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको चौथो केन्द्रीय परिषद्, बबरमहल, काठमाडौंमा आयोजित कार्यक्रममा वर्तमान ओली सरकार धेरै दिन नचल्ने पनि उहाँले उद्घोष गर्नुभयो । र, अब छिट्टै नयाँ सरकार बन्ने पनि बताउनुभयो । यसरी विविध विषयमा रहेर कर्मचारीसमक्ष अध्यक्ष प्रचण्डले आफ्ना कुराहरु राख्नुभएको छ ।
-
कर्मचारीका कुरा
अध्यक्ष प्रचण्डले पूर्वएमाले र माओवादीको एकतापछि ट्रेड युनियनलाई मर्यादित, अनुशासित गरिने भन्ने सोच अनुसार एकता गरिए पनि विपरीत निष्कर्ष निस्केको पनि बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘एकतापछि राज्यलाई गुणात्मक बनाइनेछ भनिए पनि विपरीत भयो । ट्रेड युनियन आवश्यक छैन, खारेज गर्नुपर्छ र कर्मचारीलाई गुटको अधिनस्थ बनाउनुपर्दछ भन्ने सोचहरु आउन थाले । कर्मचारीतन्त्र सरकारको दासहरुको सयंन्त्र हो भन्ने प्रत्यक्ष देख्यौँ, भोग्यौँ । अहिले सत्ता कब्जा गर्ने बडो डरलाग्दो अभियान चलेको स्थिति छ । हुनै नहुने/नसक्ने कुराहरु अहिले भइरहेका छन् ।’
शुक्रबार बसेको तीन दलको बैठकमा एउटा कुरामा साझा सहमती जुटेको पनि अध्यक्ष प्रचण्डले खुलस्त पार्नुभएको छ । ‘अहिलेको कर्मचारीतन्त्रलाई सरकारले आतंकमा बाँच्न बाध्य पारेको छ । राज्यका सबै अंगहरुलाई कब्जामा राखेर सन्त्रासमा बाँच्न बाध्य पारिएको छ,’ उहाँले भन्नुभयो, ‘कर्मचारीको वृद्धि, विकास, आत्मसम्मान र स्वतन्त्रलाई कुल्चिने जबर्जस्ती प्रयास भएको छ । राज्यका सबै अंगहरुमाथि संगठित कब्जा जमाउन सुरु भएको तीन दलको सहमती देखियो ।’
-
एकताका कुरा
२०७४ को निर्वाचनमा बाम एकताको उद्धेश्य र लक्ष्यबारे पनि अध्यक्ष प्रचण्डले आफ्नो धारणा राख्नुभएको छ । उहाँले विगतमा लिइएका लक्ष्य सम्झिँदै भन्नुभयो, ‘एकतापछि देशको स्थायित्व, आर्थिक समृद्धिका निम्ति बाम गठबन्धन र कम्युनिष्ट पार्टीको एकता गरेका थियौँ । एकता गर्यौँ, चुनाव भयो । त्यस्तो पनि दुनियाँमा कहीँ हुन्छ– हिजो बाम गठबन्धन गर्दा पूर्वएमालेको भोट पूर्वमाओवादीलाई र पूर्वमाओवादीको भोट पूर्वएमालेलाई परेको छ । त्यो भोट अहिले छुट्ट्याउन सकिन्छ ? कुनै नियम, विधि विधान, संविधान, मान्यताले यस्तो परिकल्पना गरेको छ ? प्रतिनिधिसभा र राष्ट्रिय सभा चुनावमा लडेका मान्छेलाई के भनेर परिभाषित गर्ने ?’
-
प्रधानमन्त्री ओलीका कुरा
देशको सर्वाेच्च अदालत त्यस्तो रुपमा देखा परेर परिभाषित गरिदिएको र पुनः तीन वर्ष अघिकै समयमा फर्काइदिएको पनि उहाँले बताउनुभएको छ । साथै, जे आधिकारीक थियो त्यसलाई अदालतले अमान्य बनाइदिएको उहाँको आरोप छ । उहाँले भन्नुभयो, ‘आधिकारीक–नेकपाको ७० प्रतिशतले प्रधानमन्त्री ओलीलाई अनुशासनहीन, जनविरोधी, राष्ट्रविरोधी भएकाले पार्टीबाट हटाएको त्यो आधिकारीक, वैधानिक थयो । त्यो ऐन अनुकूल थियो । संसदीय दलको बहुमतले हस्ताक्षर गरेर प्रधानमन्त्री ओलीलाई दल नेताबाट हटाएको थियो र मलाई दल नेता निर्वाचित गरिएको थियो ।’
-
सेटिङका कुरा
यतिमात्र नभएर बहुमतको हस्ताक्षर संसद सचिवालयमा दर्ता गरिएको पनि उहाँले बताउनुभयो । तर, सेटिङमार्फत सबै कामहरु गरिएको उहाँको आरोप छ । सेटिङपछि आधिकारीक ट्रेड युनियनलाई खारेज गरिदिने काम र छलछाम, अनाधिकारपूर्ण, बेइमानपूर्ण कामहरुले स्थान पाएको उहाँको भनाइ थियो ।
पार्टीबाट हटाइएको अध्यक्षलाई पुनः अध्यक्ष र प्रधानमन्त्री बनाइनु दुनियाँमा कहीँकतै नदेखिएको पनि उहाँले बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘सेटिङ क–कस्ले चलाएको हो सबैलाई थाहै छ । तर, सेटिङमा सरकरा चल्न थालेपछि कर्मचारीले न्याय पाउने, आत्मसम्मान पाउने, वृद्धिविकासमा विधिसम्मत अघि बढ्न पाउने स्थिति देखिँदैन । संघीय लोकतान्त्रिक गणतन्त्रमार्फत संविधान निर्माण गरेका हौँ र फेरी देशको रक्षाका निम्ति एकचोटी नयाँ आन्दोलनमा जानुको विकल्प छैन । हामी प्रयत्न गरिरहेका छौँ, कसैलाई दुःख नदिइकन ।’
-
जर्बजस्ती डिभोर्स गराइएका कुरा
एकताका बेला जे सपना बोकेर आइएको थियो तर अहिले बडो विचित्रको अवस्था देखा परेको दुःख अध्यक्ष प्रचण्डले व्यक्त गर्नुभयो । ‘समायोजन लथालिंग भयो । यदि, साँच्चै संविधान मिच्ने नै कोसिस जारी रह्यो, लोकतान्त्रिक मान्यतालाई कुल्चने र स्वेच्छारी ढंगले प्रयास भयो भने एउता नयाँ विद्रोहमा जान सक्ने सम्भावना आउँछ । शान्तिपूर्ण र प्रतिस्पर्धात्मक ढंगले नै अगाडि बढ्न चाहन्छौँ,’ उहाँले भन्नुभयो, ‘यो स्थिति सिर्जना हुनुअघि नै नयाँ सरकार गठन गरेर यो सरकारले गरेका ज्यादती सच्याउन चाहन्छौँ । हाम्रो जस्को विचार भावना मिलेको थियो । मिलेकालाई जबर्जस्ती डिभोर्स गराइयो । हामी यसलाई पुनः मिलन गर्न चाहन्छौँ । र, फेरि राष्ट्रिय एकता मजबुत गर्न चाहन्छौँ तर, हामीलाई बाध्य पारियो भने त्यसको प्रतिवाद सिंहदरबारभित्रैबाट, देशभरबाटै त्यसको प्रतिवाद गर्नुपर्ने अवस्था पनि आउन सक्छ ।’
-
नयाँ सरकारका कुरा
अब नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रको सहकार्यमा छिट्टै सरकार गठन हुने पनि उहाँले बताउनुभएको छ । ‘हामी नयाँ सरकार गठनको तयारीमा छौँ । केही ढिलो चाँडो हुन्छ नै । तर, सबै कालो बादल हट्छ नै भन्नेमा आशावादी छु ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !