-
गौरभ साह
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले मेलम्ची खानेपानी आयोजनाको काममा ढिलाई भएकोप्रति काठमाडौंबासीसँग माफी माग्नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले उल्टै उद्घाटनको तमासा गरेको बताउनुभएको छ ।
विहीबार (आज) प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले भन्नुभयो, ‘काठमाडौंबासीलाई समयमा पानी खुवाउन ढिला ग¥यौं । यो आयोजनाबाट हामीले धेरै कुरा सिकेका छौं । अब यस्तो गर्दैनौं भन्नुपर्ने प्रधानमन्त्रीले पनि, हामीले पनि । सिक्नुपर्ने बेलामा कहिले धारा खोलेर, कहिले बाल्टी थापेर, कहिले उठेर, कहिले बसेर उद्घाटन गरेको छ ।
तमासा गरेको छ । चमत्कार भयो भनेको छ ।’यस अगाडि उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री ओलीलाई सडक र पुलको शिलन्यास गर्न र उद्घाटन गर्न भ्याई–नभ्याई भएको छ । प्रधानमन्त्री ओलीले भनिराख्नुभएको छ, ‘यति धेरै विकासको काम कहिल्यै भएको छैन । यो त चमत्कार नै भयो ।’
उहाँले थप भन्नुभयो, ‘प्रधानमन्त्रीलाई यो चमत्कार भएको किन लागिरहेको छ ? दुई वटा कारण हुनसक्छ । एउटा कारण वास्तविकता कुरा के छ ? भन्ने कुरा प्रधानमन्त्रीलाई थाहा छैन । चरम अल्पज्ञान वा ढाँट्ने बानी लागेको छ । विकृत असत्य भाषा । यी दुवै राष्ट्रको निम्ति हानिकारक छ ।’
उहाँले फेरि भन्नुभयो, ‘चैतको २९ गते २०७४ साल अर्थात् ५७ दिन पछाडि मेलम्चीको सुरुङ छिचोलेर, सकेर उपराष्ट्रपतिले उद्घाटन गरेर, रिबन काटेर लड्डु बाँड्नु भयो र रोस्टममा उभिएर भन्नुभयो, २०७५ सालको असोजसम्ममा मेलम्चीको पानी आउँछ । साढे दुई वर्ष लाग्यो त्यस पछाडि पनि ।’
सोबीचमा प्रधानमन्त्री र मन्त्रीको कुरा नमिलेको कुरा उल्लेख गर्दै उहाँले थप भन्नुभयो, ‘मन्त्रीसँग कुरा मिलेन, ठेकदारसँग मोलमोलाई मिलेन । साढे दुई वर्ष लाग्यो । डेढ अर्ब रुपैयाँ अनावश्यक खर्च भयो । ५७ दिनमा चमत्कार भएको थिएन । पहिलेदेखि काम भइरहेको थियो । त्यो ९ महिना त आयोजनाको कामको सिन्को भाँचिएको थिएन । अहिले यत्रो फूर्ति !’
२०४४ सालमा मेलम्ची खानेपानी आयोजनाको परिकल्पना गरिएको कुरा उल्लेख गर्नै उहाँले भन्नुभयो, ‘२०५५ सालमा मेलम्चीको बिकास समिति बनिसकेपछि पनि २३ वर्ष लाग्यो । ७÷८ वर्षमा सम्पन्न हुने आयोजना २३ वर्ष लाग्दै गर्दा हामी सबै सरकारमा बस्यौं । ७÷८ वर्षमा सम्पन्न हुने आयोजना २३ वर्ष लाग्दै गर्दा, अर्बौ रुपैयाँ बढी खर्च लाग्दै गर्दा हामीले माफी माग्नु पर्ने होइन !’
त्यस्तै, उहाँले २०६७ सालमा सुरु भएको तामाकोशी २०७३ सालमा सक्नुपर्ने उल्लेख गर्दै भन्नुभयो, ‘२०७१ सालको चभैतसम्ममा ८० प्रतिशत काम सकिएको थियो । भूकम्पको कारणले केही पछि हट्यो । नाकाबन्दीको कारणले केही प्रभाव ग¥यो । ७५÷७६ मा सकिनुपर्ने अब आउने बैशाखमा पहिलो युनिट सुरु हुँदैछ ।
अब हेर्नुहोस्, ठ्याक्कै मेलम्चीको जस्तो अहिले जुन गरिएको तमासा छ । अब तामाकोशीमा पनि देखाइनेवाला छ । गज्जबै भो, चमत्कार रै भो । फ्याट्ट फ्याट्ट बिजुली बाल्दिनुभो, पानी झार्दिनुभो । भन्ने कविता सुन्ने वालामा छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !