दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले दाङमा अवैध रुपमा सञ्चालित क्रसर उद्योगहरु बन्द गराउन दाङ प्रहरीलाई पत्राचार गरेको छ । दाङमा अवैध क्रसरहरु सञ्चालन भइरहेको स्थानीय रुपमा नै गुनासो बढेपछि प्रदेश प्रहरी कार्यालयले पत्राचार गरेको हो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी राजेन्द्रसिंह खड्काले अवैध क्रसरको अनुगमन गर्न र यदि त्यसरी सञ्चालन भइरहेको पाइए कारबाही गर्न दाङ प्रहरीलाई पत्राचार गरिएको जानकारी दिए ।
‘अवैध क्रसर सञ्चालन भएको गुनासो आएपछि प्रदेश प्रहरीको ध्यानाकर्षण भएको हो । अनुगमन गर्न र अवैध सञ्चालन भएको पाइए कारबाही गर्नका लागि मातहतको निकायलाई निर्देशन दिएका छौं,’ उनले भने ।
पत्रमा स्थानीय प्रशासन तथा स्थानीय तहसँग समन्वय गरी आआफ्नो वडा एरियामा सञ्चालमा रहेका अवैध उद्योगहरुलाई बन्द गर्न, मापदण्ड विपरीत उत्खनन, चोरी निकासी पैठारी गर्ने सम्बन्धित व्यक्ति, संस्था र उद्योगलाई स्थानीय तहसँग समन्वय गरी कानुनी कारबाही गर्न निर्देशन दिइएको छ ।
यस्तै, कार्यालय प्रमुखले नियमित अनुगमन गरी अवैध कार्य हुन नदिन र प्रहरीको कार्य क्षेत्र नपर्ने भनी बहानी गरी पन्छिने प्रवृत्तिलाई निरुत्साहित गर्न पनि पत्रमा निर्देशन दिइएको छ ।
स्थानीयका अनुसार हाल दाङमा मापदण्ड विपरीत १० वटा क्रसर उद्योग सञ्चालनमा छन् । अघिल्ला प्रमुख जिल्ला अधिकारीको पालामा बन्द गरिएका ती क्रसर अहिले नयाँ प्रजिअ आएपछि खुला गरिएको उनीहरुको आरोप छ । यसमा प्रहरी र प्रशासनको मिलेमतो रहेको जनाइएको छ ।
हाल जिल्ला प्रहरी दाङको प्रमुखमा एसपी गणेश चन्द छन् भने नयाँ प्रजिअका रुपमा दीर्घनारायण पौडेलको सरुवा भएको छ । यसअघिको प्रशासनको नेतृत्वले जिल्लामा अनुगमन गरी अवैध रहेका ती १० क्रसरलाई बन्द गराएको थियो ।
प्रजिअ पौडेलले आफू आएपछि कुनै पनि क्रसर खोल्नका लागि अनुमति नदिएको जानकारी दिए । ‘यसअघिका प्रमुखले जुन जुन क्रसरलाई अवैध भनी बन्द गराएका थिए, ती कुनैलाई पनि खोल्नका लागि मैले अनुमति दिएको छैन,’ उनले भने, ‘अवैध १० क्रसर बन्द नै छन् ।’ हाल जिल्लामा २९ वटा क्रसर उद्योग दर्ता रहेको र तीमध्ये १० अवैध रहेको उनले बताए ।
अवैध भनिए बन्द गरिएका क्रसरमा तुलसीपुर क्षेत्रमा सञ्चालित गणेश बालुवा वासिङ उद्योग, के एण्ड एस बालुवा प्रशोधन वासिङ उद्योग, स्वर्गद्वारी स्क्रिन प्लान्ट प्रालि, जनविश्वास बालुवा वासिङ उद्योग, मंगलम् बालुवा प्रशोधन उद्योग छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !