झपा, । पछिल्लो एक सर्वेक्षणका अनुसार लागु औषधको नेपालमा सबैभन्दा बढी प्रयोगकर्ता काठमाडौं उपत्यका र त्यसपछि पोखरासँग झापामा छन् । झापाका बिभिन्न स्थानबाट लागु औषधको मुद्धामा पक्राउ परेका ब्यक्ति र मुद्दाको संख्याले युवा पुस्ताकै भविष्य अन्धकार तर्फ धकेलिने संकेत पनि दिइरहेको छ ।
वढ्दो लागु औषधको प्रयोगका कारण नेपाली समाजको भविष्य नै अन्धकारतर्फ धकेलिन सक्ने तथ्य फेला परेको हो ।
झापामा दिनप्रतिदिन लागू औषधको प्रयोग वढेको पाइएकोे छ । जिल्लाका बिभिन्न स्थानबाट लागु औषध ओसारपसार र सेवनमा संलग्नलाई प्रहरीले पक्राउ गरेको संख्याले यसलाई पुष्टि गरेको छ । चालु आर्थिक वर्षको बितेको आठ महिनामा मात्रै प्रहरीले सबैभन्दा वढी १ सय ३६ वटा लागु औषधको मुद्धा दर्ता गरिसकेको छ भने यो कार्यमा संलग्न २ सय १२ जना पक्राउ परी अदालत बुझाएको छ ।
हाल झापाका प्रहरीको हिरासतमा भएका अभियुक्त मध्ये अधिकाशं लागुऔषधको ओसारपसार, कारोवार र सेवनमा संलग्न रहि पक्राउ परेको पाईएको छ । हाल झापाभर ८६ वटा लागुऔषध सम्बन्धि मुद्धामा एक सय २७ जना अभियुक्त प्रहरीको हिरासतमा अनुसन्धानको क्रममा छन् ।
इलाका प्रहरी कार्यालय काकडभिट्टाको हिरासतमा रहेका कुल २९ वटा मुद्धाका अभियुक्त मध्ये २२ वटा मुद्धाका २८ जना अभियुक्त लागु औषधको मुद्धाको सिलसिलामा पक्राउ परेका छन् । ति मध्ये अधिकाशं युवा रहेको र यसले भाबी पुस्ता नै खतरामा पर्ने संकेत गरेको छ ।
त्यसैगरी इलाका प्रहरी कार्यालय अनारमनीमा २० वटा लागु औषध सम्बन्धि मुद्धाको अनुसन्धानको शिलशिलामा २७ जना, इप्रका धुलाबारीमा १३ मुद्धाका २३ जना, इप्रका दमकमा १४ मुद्धाका २१ जना अभियुक्त प्रहरी हिरासतमा छन् ।
यस्तै इप्रका झिलझिलेमा ४ मुद्धाका ७ जना, इप्रका गौरीगन्जमा ४ मुद्धाका ६ जना र जिल्ला प्रहरी कार्यालय झापामा ९ वटा लागुऔषधको मुद्धाका १५ जना अभियुक्त प्रहरी हिरासतमा छन् ।
यसरी प्रहरीले पक्राउ गरी दायर गर्ने मुद्धामध्ये लागुऔषध सँग सम्बन्धित मुद्धा अधिक हुनुले समाजका सबै तह र तप्का सजग भएर यसको रोकथाममा लाग्नुपर्ने प्रहरीको भनाई छ । प्रहरी एक्लैले मात्रै यसको रोकथाम गर्न नसक्ने भएकाले भावी पुस्तालाई कुलतबाट बचाउन सबैको सहयोग आवश्यक रहेको प्रहरीको आग्रह छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !