महोत्तरी । महोत्तरी जिल्लाको भंगहा नगरपालिका–८ धर्मपुर टोलबाट हिजो दिउँसोदेखि बेपत्ता भएका ७ बालिका र १ जना किशोरी भेटिएका छन्। उनीहरू आज बोर्डरबाट ३५ किलोमिटर पर भारतको सीतामढी नजिकैबाट केही घण्टामै नेपाल फर्किँदै छन्।
घाँस काट्न भनी निस्किएका बालिकाहरू एकाध घण्टामै भारतको सीमावर्ती सहर सीतामढी नजिकै पुग्नु रहस्यमय हो। भारतीय प्रहरीलाई दिएको जानकारी अनुसार आफूहरु गायिका बन्ने सपना साथ भारत पुगेको बयान दिएका छन्।
तर यता उनीहरुको कुरा सुन्दा ‘गहिरो राज’ हुन सक्ने आफन्तहरूले बताएका छन्। धर्मपुरबाट भारतको सीतामढी ५० किलोमिटर टाढा पर्छ। बोर्डरबाट ३५ किलोमिटर टाढाको उक्त स्थानमा केटीहरूलाई कसले के उद्देश्यले लगेको थियो भन्ने यथार्थ उनीहरू फर्केपछि मात्र थाहा हुने प्रहरीले बताएको छ।
हिजो छोरीहरू हराएपछि अभिभावकले प्रहरीमा तत्काल जानकारी गराएका थिए भने नेपाल प्रहरीले भिट्टामोड सीमा नाकामा खटिएको भारतीय प्रहरीलाई हुलियासहित जानकारी गराएको थियो। त्यही हुलियाका आधारमा भारतीय प्रहरीले किशोरीहरूको समूहलाई सीतामढी नजिकै राति नै फेला पारेको व्यहोरा नेपाल प्रहरीलाई जानकारी गराएको थियो।
महोत्तरीको जलेश्वर भन्सार पोष्टमा कार्यरत सशस्त्र प्रहरी बलका इन्सपेक्टर बिर्खबहादुर शाहीको टोली बालिकाहरूको उद्धारको निम्ति अहिले भारततर्फ गएको छ। हराएका बालिका र किशोरीहरूलाई आजै रातिसम्म परिवारको जिम्मा लगाइने बुझिएको छ।
अकस्मात् हराएर सीमावर्ती भारतीय शहर पुगेका बालिका तथा किशोरीहरूमा नगिना पासवान, रिया पासवान, अर्चना पासवान, ज्योति पासवान, रञ्जना पासवान, सीमा पासवान, रचना पासवान, अस्मिता पासवान हुन्। तीमध्ये दुई जना १८ वर्षीया, दुई जना १५ वर्षीया, तीन जना १० वर्षीया र १३ वर्षीया एक जना छन्।
विगतमा पनि तराईका बोर्डर हुँदै नेपालबाट युवती बेचबिखन हेतु तस्कारले लगेका हुँदा यो पनि त्यस्तै घटना हुन सक्नेमा सर्वसाधारण चिन्तित देखिने गरेका छन।
भारतमा लिएको ब्यान

















