काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) ले प्रतिनिधिसभाको रिक्त समानुपातिकतर्फको सदस्यमा सिरहाकी जानकीदेवी रामलाई निर्वाचित गर्ने भएको छ ।
एमाले केन्द्रीय कमिटीको बैठकबमोजिम समानुपातिक उम्मेदवारको बन्द सूचीमा ८८ नम्वरमा रहेकी जानकीदेवीलाई निर्वाचित गर्न निर्वाचन आयोगलाई पत्र पठाउने निर्णय गरेको हो ।
दलित महिलाबाट उम्मेदवार रहेकी जानकीदेवीलाई सांसद पद मिल्न लागेको रोलक्रमबाट भने होइन । एमालेको बन्द सूचीमा ८६ औं नम्वरमा रहेकी इलामकी सानु शिवा समानुपातिक सांसद बनेकी थिइन् ।
उनको गत वर्ष निधन भएपछि रिक्त रहेको सांसद पदमा ८७ नम्वरकी धनकुमारी सुनारको पालो आउने थियो । तर, सुनार यसयअघि नै एमाले छाडेर डा. बाबुराम भट्टराईको पार्टीमा लागेकाले उनको नाम बन्द सूचीबाट हटाउने निर्णयसमेत एमालेले गरेको छ ।
जानकीदेवी राम निर्वाचित भएपछि प्रतिनिधिसभामा एमालेको सांसद १२१ जना कायम हुनेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !