काठमाडाैं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का अध्यक्ष केपी शर्मा ओलीले रिपोर्टर्स क्लब नेपालले यो वर्ष घोषणा गरेको पुरस्कारहरू प्रदान गरेका छन्। आज रिपोर्टर्स क्लब नेपालको २३ औं वार्षिकोत्सवमा आयोजित विशेष कार्यक्रमबीच पुरस्कार प्रदान गरेका हुन्।
यस वर्षको मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा उज्यालो मल्टिमिडिया प्रालिका कार्यकारी अध्यक्ष/सञ्चालक गोपाल गुरागाईंलाई प्रदान गरिएको छ। नेपाली राजनीतिका चर्चित हस्ती, जनताको बहुदलीय जनवादका प्रणेता, विचारक एवं कुशल वक्ता नेकपा (एमाले) का पूर्वमहासचिव मदनभण्डारीको स्मृतिमा स्थापित यो पुरस्कारको राशि १ लाख रुपैयाँको छ। गुरागाईं विगत तीन दशकभन्दा अघिदेखि पत्रकारितामा सक्रिय छन्।
यसैगरी, यो वर्षको कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई प्रदान गरिएको छ। पण्डित विगत साँढे दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्। यो पुरस्कारको राशि ४० हजार रुपैयाँ छ।
प्रधानमन्त्री ओलीले यो वर्षको तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार रेडियो नेपालका समाचार महाशाखा प्रमुख डा. नवराज लम्साल र नेपाल टेलिभिजनका प्रमुख समाचार सम्पादक शालिक सुवेदीलाई संयुक्त रुपमा प्रदान गरेका छन्। यो पुरस्कारको राशि ५० हजार छ।
यसैगरी कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार ताजा खबर साप्ताहिकका सम्पादक ईश्वरी वाग्लेलाई प्रदान गरिएको छ। यो पुरस्कारको राशि २५ हजार रुपैयाँ छ। वाग्ले ३५ वर्षदेखि पत्रकारितामा सक्रिय छन्।
त्यस्तै, यो वर्षको सहिद जगदजंगप्रकाश शाह स्मृति पत्रकारिता पुरस्कार नागरिक दैनिकका राजनीतिक ब्युरो–चिफ बालकृष्ण अधिकारीलाई प्रदान गरिएको छ। अधिकारी विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन्। अधिकारीलाई दिइएको पुरस्कारको राशि २५ हजार छ।
यसैगरी यो वर्षको उमा सिंह स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर दैनिककी वरिष्ठ उप–सम्पादक बिनु सुवेदीलाई प्रदान गरिएको छ। सुवेदी विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय छिन्। सुवेदीलाई दिइने पुरस्कारको राशि २५ हजार रुपैयाँ छ।
यसैगरी यस वर्षको बाबुछिरी फोटो पत्रकारिता पुरस्कार रिपोर्टर्स नेपाल डटकमकका फोटो पत्रकार मुकुन्द कालिकोटेलाई प्रदान गरिएको छ। कालिकोटे विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्। उनलाई दिइएको यो पुरस्कारको राशि २५ हजार रुपैयाँ छ।
त्यस्तै, यो वर्षको वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार एबिसी टेलिभिजनका उप–सम्पादक अनन्त अनुरागलाई प्रदान गरिएको छ। अनुरागलाई प्रदान गरिएको उक्त पुरस्कारको राशि २० हजार रुपैयाँ छ। अनुराग विगत डेढ दशक भन्दा बढि समयदेखि पत्रकारितामा सक्रिय छन्।
यस्तै, यो वर्षको उत्कृष्ट युवापत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समितिका उप–सम्पादक जीवन भण्डारी, डिसी नेपाल डटकमका सह–सम्पादक मदन कोइराला, प्राइम टाइम्स टेलिभिजनका उपसम्पादक दिपक अर्याललाई प्रदान गरिएको छ।
यसैगरी, योहो टेलिभिजनका वरिष्ठ कार्यक्रम प्रस्तोता रोहन श्रेष्ठ, दामन पोष्ट साप्ताहिकका सम्पादक सन्तराम विडारी, नेपाल पुकार टेलिभिजनका सञ्चालक प्रकाशचन्द्र दाहाल, न्यूज एजेन्सी नेपालका क्यामेरा पर्सन देवआनन्द शिल्पकार, सरोकार टेलिभजन तथा हिमालय टेलिभ्वाइसका क्यामेरा म्यान दुर्लभ थापा मगरलाई प्रधानमन्त्री ओलीले उत्कृष्ट युवा पत्रकारिता पुरस्कारबाट सम्मान गरेका छन्।
प्रधानमन्त्री ओलीले डेमेक्रेसी खबर साप्ताहिकका सम्पादक गणेश खड्का, न्यूज फिल्मी डटकमका कार्यक्रम प्रस्तोता अनुप भट्टराई, रमाइलो छ का प्रबन्ध निर्देशक उत्सव रसाइली, क्यानडा नेपाल डटकमका सम्पादक रौनक निरौला र प्राइम टाइम टेलिभिजनका पर्सा संवाददाता श्रीकान्त गुप्तालाई प्रधानमन्त्री ओलीले युवा पत्रकारिता पुरस्कारबाट सम्मान गरेका छन्।
यसैगरी, रिपोर्टर्स क्लब नेपालको प्रदेश शाखामा रहेर उत्कृष्ट भूमिका निर्वाह गर्ने क्लबका लुम्बनी प्रदेश संयोजक रामकुमार क्षेत्रीलाई सम्मान गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !