काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार दिउँसो बसेको बैठकले नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री, काठमाडौं महानगरपालिकाका पूर्व उप–मेयर, संविधानसभा सदस्य, पूर्व मन्त्री एवं नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । जोशीको नर्भिक अस्पतालमा उपचारको क्रममा शुक्रबार राति निधन भएको हो ।
गत फागुन १४ गते बिहान मस्तिकघात भएपछि जोशीलाई उपचारको लागि वीर अस्पताल हुँदै नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। वि.सं. २०१९ साल असार ३ गते काठमाडौंमा जन्मिएका जोशीले नेपालको लोकतान्त्रिक आन्दोलनमा चार दशक भन्दा लामो समय बिताएका छन्। कांग्रेसले जोशीको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चीर शान्तिको कामनासहित शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना समेत प्रकट गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !