वीरगन्ज । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा बढ्दै गएपछि नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भित्रिन नदिन सीमा नाकामा कडाई गरिने भएको छ ।पर्साका प्रमुख जिल्ला अधिकारी ( सिडीयो ) अस्मान तामाङ्गको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकबाट कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण भित्रिन नदिन सीमा नाकामा कडाई गर्नुका साथै आन्तरिक सुरक्षा व्यवस्थापन परीक्षण एवं क्वारेन्टाइन आइसोलेशन व्यवस्थापन गर्ने निर्णय गरिएको हो ।
बैठकले सीमा नाकाको सुरक्षा व्यवस्थापनको लागि इनर्वा नाका लगायत यस जिल्लाको विभिन्न नाकाबाट अनाधिकृत आवत जावत नियन्त्रण गर्न सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट आवश्यकीय सुरक्षाको प्रबन्ध मिलाउने, सीमा नाकामा संचालित हेल्थ डेक्समा कार्यरत स्वास्थ्यकर्मीद्वारा यात्रुहरुको तापक्रम मापन गर्ने, ज्वरो आएका यात्रुहरुको मलेरियाको ¥यापिड डाइग्नोस्टिक चेकजाँच (आरडीटी) तथा सम्भव भएसम्म कोभिडको एन्टिजेन टेस्टको व्यवस्था नारायणी अस्पतालबाट गरिने निर्णय गरिएको छ ।
साथै सीमा नाकाबाट नेपाल भित्रिने यात्रुहरुको हकमा कोभिड–१९ को लक्षण देखिएको यात्रुलाई आइसोलेशन सेन्टर वा अस्पतालमा पठाउने व्यवस्था गर्ने र अन्य यात्रुहरुलाई १० दिनसम्म होम क्वारेन्टाइनमा बस्ने बसाउने व्यवस्था मिलाउन स्थानीय तहलाई अनुरोध समेत गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
उक्त बैठकबाट कुनैपनि सभा, जुलुस, ¥याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक एवं भीडभाड हुने कार्यहरु गर्न निरुत्साहित गर्ने, सार्वजनिक स्थलमा २५ जना भन्दा बढी सामूहिक भेला हुन निषेध गर्नेलगायतका जनस्वास्थ्यका मापदण्डहरुको कडाईका साथ पालना गराउन सबै निकायहरुलाई अनुरोध समेत गरिएको छ ।त्यस्तै, सोही बैठकबाट आन्तरिक सुरक्षा व्यवस्थापन परीक्षणका लागि नाराणी अस्पतालमा १५ शैयाको आईसीयू सूचारु गर्नुका साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशिका बमोजिम केस इन्भिस्टिगेशन एवं कन्टेक्ट टे«सिङ्ग कार्यलाई तीब्रता दिने निर्णय गरिएको छ ।
साथै क्वारेन्टाइन आइसोलेशन व्यवस्थापनका निम्ति सामुदायिक क्वारेन्टाइन सेन्टरको लागि वीरगन्ज महानगरपालिका भित्रका कलवार धर्मशाला, गोपाल मण्डली लगायतका धर्मशालाहरुलाई महानगरपालिकाको समन्वयमा तत्कालै सूचारु गर्नुका साथै नारायणी अस्पताल, पोखरीया अस्पताल, बगही प्राथमिक स्वास्थ्य केन्द्र, वागेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र र भिखमपुर स्वास्थ्य केन्द्रलाई कोभिड अस्पतालको रुपमा व्यवस्था गर्न निर्णय समेत गरिएको छ ।
बैठकमा जिल्ला संकट व्यवस्थापन केन्द्रका सदस्यहरु क्रमशः नारायणी अस्पतालका मेसु संजय कुमार ठाकुर, चण्डी प्रसाद गणका प्रमुख सेनानी मदनजंग राणा, प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, बरिष्ठ जनस्वास्थ्य अधिकृत कामेश्वर प्रसाद चौरसिया, राष्ट्रिय अनुसन्धानका टिका प्रसाद पोखरेल, सदस्य सचिव सहायक प्रजिअ धु्रव गिरीसहित मेयर विजय कुमार सरावगी, जिल्ला समन्वय समितिका प्रमुख नेक महम्मद अन्सारी, वीमनपाका अरुण कुमार महतो लगायत सरकारी निकायका विभिन्न पदाधिकारी, राजनीतिक दलका नेताहरुको उल्लेख्य उपस्थिति थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !