-
अमर काफ्ले
विराटनगर । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) नरेन्द्रकुमार कार्की माथि देवानगञ्जका स्थानीयले कुटपिटको आरोप लगाएका छन् । कार्की माथि देवानगञ्जका नारायण मेहताले कुटपिटको आरोप लगाएका हुन् । मेहताले जिल्ला प्रहरी कार्यालय इनरुवा गएको बेला कार्यकक्षमा बोलाएर आफुमाथि कुटपिट गरिएको दाबी गरेका छन् ।
चैत्र ५ गते आफुमाथि भएको कुटपिटको विषय मेहताले आज इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेका हुन् ।पत्रकार सम्मेलनमा मेहताले बताए अनुसार आफन्त माथि भएको कुटपिटको विषयमा उजुरी दिन जिल्ला प्रहरी कार्यालय गएको बेला कार्यकक्षमा बोलाई कुटपिट गरिएको हो ।डिएसपीले बढी बोल्छस, तै भँडुवा र दलाली होस भनेर हप्कीदप्की गर्दै कोठामा बोलाई ढोका थुनेर आफुमाथि कुटपिट गरेको मेहताको भनाई छ ।डिएसपी माथि कुटपिटको आरोप लगाएका नारायणले आफन्त लक्ष्मण मेहता र सीताकुमारी मेहता माथि भएको कुटपिटको घटनालाई समेत प्रहरीले ढाकछोप गर्न खोजेको आरोप लगाए । उनले कुटपिट गर्ने राजिब मेहता, ललन मेहता र रिचा मेहतालाई प्रहरीले कार्वाही नगरी छाड्नुका साथै उपचार खर्च समेत स्वयं पीडित पक्षलाई प्रहरीले बेर्होन लगाएको बताए ।उता लगाइएको आरोपको विषय डिएसपी कार्कीले खण्डन गरेका छन् । उनले आफुले कोही कसैमाथि हातपात वा दुर्व्यवहार नगरेको प्रतिकृया दिएका छन् । कार्कीले मेहताले सामान्य घटनालाई उचाल्न खोजेको र पीडित पक्षलाई थप सास्ती दिन खोजेको पाइएपछि आफुले सम्झाउने क्रममा सामान्य गाली मात्रै गरेको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !