काठमाडौं । फर्निचर उद्योग संचालनमा सहजीकरण गरिदिने भनी ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि सशस्त्र प्रहरी बल वेश क्याम्प, गैडहवा रुपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार पौडेलसहित सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासीले फर्निचर उद्योग संचालनमा सहजीकरण गरिदिने भनी ५० हजार अतिरिक्त रकम माग गरेका थिए ।उक्त सुचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले उनीहरुलाई उक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा दुवैले घुस/रिसवत माग गरी लिएको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीका लागि विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता नारायणप्रसाद रिसालले जनाए।
उनीहरुलाई जनही बिगो ५० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) अनुसार सजाय हुन मागदाबी गरिएको रिसालले बताए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !