काठमाडौं । नेपाली कांँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओलीलाई सरकारको नेतृत्व गर्न दिइरहनु भनेको मुलुकलाई बर्बादीतिर धकेल्नु मात्र हुने बताउनु भएको छ ।
उहाँले संसद विघटन गर्नेलाई एक दिन पनि सत्ता सम्हाल्न दिन नहुने तर्क पनि राख्नुभएको छ । शनिबार (आज) नेपाल ट्रेड युनियन कांँग्रेसका संस्थापक अध्यक्ष गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृति सभामा बरिष्ठ नेता पौडेलले अरु दललाई अघि सारेर भएपनि वर्तमान प्रधानमन्त्रीलाई पदबाट हटाउनुपर्ने बताउनुभएको हो ।राजनीतिक अन्यौल बढेको भन्दै उहाँले यो अन्यौल अन्त्य गर्न नेपाली कांँग्रेसले सबै पार्टीलाई मिलाएर निकाश निकाल्नुपर्ने जिकिर गर्नुभयो । उहाँले देशलाई ठीक दिशा दिने हैसियत कांग्रेसले राख्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले नेपाली कांग्रेसले चुनावको पक्षमा वकालत गर्नु नहुने धारणा पनि राख्नुभएको छ । त्यस्तै, पौडेलले संविधान बचाउने सरकार ल्याउन र व्यवस्था बचाउने शक्ति यही संसदभित्र निर्माण गर्न कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने पनि बताउनुभएको छ ।
बरिष्ठ नेता पौडेलले अहिलेको प्रणालीको रक्षा गर्न र संसदको रक्षा गर्न पनि कांँग्रेसले अग्रसरता लिने बेला आएको जिकिर गर्नुभएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !