मलंगवा । जिल्ला प्रशासन कार्यालय सर्लाहीका नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) को रुपमा सह–सचिव हेमराज तामाङ आएका छन् । गृह मन्त्रालयले तामाङलाई सल्यान जिल्लाबाट सर्लाही पठाएको हो । आइतवार बेलुका नै जिल्ला आइपुगेका तामाङले सोमवारदेखि कार्यभार सम्हालेका जिल्ला प्रशासन कार्यालय, मलंगवाले जनाएको छ ।
मन्त्रालयले फागुन १५ गते सर्लाहीसहित ३६ जिल्लाका सीडीओहरुको एकैसाथ सरुवा गर्दा सर्लाहीमा चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई सरुवा गरेको थियो । तर स्रोतका अनुसार भट्टराई सर्लाही आउन अस्वीकार गरेर मन्त्रालयमै बसेका छन् । त्यसपछि सल्यानमा रहेका तामाङलाई सर्लाहीमा पठाइएको हो ।
प्रमुख जिल्ला अधिकारी नहुँदा सहायक प्रमुख जिल्ला अधिकारी उप–सचिव भुमिश्वर पोखरेलले निमित्त प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरे । अढाई वर्ष लामो रिक्त रहेको सहायक सीडीयोको रुपमा पोखरेल पनि केही साताअघि मात्रै हाजिर भएका हुन् ।
यसअघिका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको बारा जिल्लामा सरुवा भएको थियो । सामान्यतया सुरक्षा अधिकारीहरु एक वर्षसम्म एकै ठाउँमा रहने भए पनि पौडेलको पनि ७ महिनामै सरुवा भएको थियो ।

















