काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) को संसदीय दलको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान १० बजेका लागि बोलाएको बैठक १ घण्टा ढिला गरी सुरु भएको हो।
आजको बैठकमा विधान संशोधन समितिले प्रस्ताव गरेको संशोधन प्रस्ताव, संसदीय बोर्डको पूर्णता लगायतका विषयमा छलफल हुने सांसद पदम गिरीले जानकारी दिए। बिहीबार बसेको नेकपा संसदीय दलले सांसदहरु विशाल भट्टराई, शेरबहादुर तामाङ र राष्ट्रियसभा सदस्य विमला राई पौडेल रहेको ३ सदस्यीय विधान संशोधन कार्यदल बनाएको थियो। कार्यदलले संशोधन प्रस्ताव तयार गरेको र सोही प्रस्तावमाथि आजको बैठकमा छलफल हुने भएको हो।
त्यस्तै बैठकले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरुमाथि कारबाही गर्न सक्ने समेत गिरीले बताए। उनले नेपाल खनाल समूहका सांसदमाथि कारबाहीको तयारी अगाडि बढेको समेत जानकारी दिए। यस्तै बैठकमा नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभामा निर्वाचित सांसद एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेकपा एमाले संसदीय दलको बैठकमा सहभागी भएका छन्।
प्रधामनन्त्री निवास बालुवाटारमा जारी बैठकमा बादल सहभागी भएका हुन्। औपचारिक रूपमा उनी माओवादी केन्द्रका सांसद हुन्। माओवादी परित्याग गरेका थापा एमालेको केन्द्रीय सदस्य मनोनित भइसकेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया !