बिर्तामोड । कर्तव्य ज्यान मुद्दामा ४० वर्षभन्दा बढी समयदेखि भारत कोलकाताको दमदम कारागारमा रहेका नेपाली नागरिक दीपक जैसी तिम्सिनालाई रिहा गर्न उच्च अदालत कोलकाताले बुधवार साँझ आदेश दिएको छ।
विगत तीन दिनदेखि उनको मुद्दामा लगातार बहस भएको दीपकको पक्षबाट मुद्दाको बहस गरेका भारतका कानुन व्यवसायी हिरक सिन्हाले बताए।
बुधवार बिहानको बहसमा अदालतले उनी पक्राउ परेको भारतको दार्जीलिङबाट पुराना कागजात मगाएपछि उनको मानसिक स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै अदालतले रिहा गर्न आदेश दिएको सिन्हाले बताए।
नेपालबाट उनका भाइ प्रकाशचन्द्र तिम्सिना कोलकाता पुगेपछि, उनको र कोलकातास्थित नेपाली महावाणिज्य दूतावासको रोहबरमा रिहा गर्न अदालतले आदेश दिएको छ।
-
प्रकाशचन्द्र बिहीबार कोलकाता जाँदैछन्।
दीपक २०३७ सालदेखि इलामको एकतप्पास्थित उनको घरबाट हराएका थिए। तोरीको पोको बेच्नका लागि भनेर इलामको मंगलबारे हिँडेका दीपक घर फर्केका थिएनन्।दीपकलाई सोही कारागारमा उनका परिवारका सदस्यले केही दिन अघि भेटेका थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !