-
आजको बैठक प्रधानमन्त्री ओली अप्ठेरोमा परेको बेला सजिलो पार्नका लागि राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएको नेपाली कांग्रेसका बरिस्ठ नेता पौडेलले बताए ।
काठमाडौं । कांग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठकमा गैरजिम्मेवार कुरा गरेको बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले फेरी प्रतिनिधि सभा विघटन हुन सक्ने र नयाँ चुनावको पक्षमा अभिब्यक्ति दिएको पौडेलले बताए।
मंगलबार साँझ राष्ट्रपतिको कार्यालय शितल निवासमा राष्ट्रपति भण्डारीले बोलाएको सर्वदलीय बैठकमा ओलीले प्रतिनिधि सभा पुर्नस्थापना भएपछि अस्थिरता आएको भन्दै ताजा जनादेशमा जानुको विकल्प भएको बताए। नेता पौडेलले प्रधानमन्त्रीको भनाई उदृत गर्दै भने-‘प्रधानमन्त्रीले गैरजिम्मेवार कुरा गरे। फेरी ताजा जनादेशमा जानुपर्ने जस्तो कुरा निकाले। चुनाव चुनाव मात्रै भनेर त्यो मात्रै समस्याको समाधान हो ? त्यत्रो संघर्षबाट बनेको संविधान सहमति किन तोडियो ? चुनाव भएपछि के कुरा पहिला समाधान हुन्छ त ? हामीले फेरी चुनावपछि पनि यस्तै अवस्था आयो भने के गर्ने भन्यौँ।’
सर्बदलीय बैठकमा प्रधानमन्त्रीले संसद पुर्नस्थापना भएपछि झन् अस्थिरता निम्तिएको र संसद राम्रोसँग चल्ने अवस्था नरहेको बताएका थिए । छलफलमा सहभागी नेताहरुले प्रधानमन्त्री स्वंय संसदीय दलको नेता भएकोले सदन चलाउन खै पहल गरेको भन्ने कुरा राखेको कांग्रेसका बरिस्ठ नेता पौडेलले जानकारी दिए।
छलफलमा राष्ट्रपतिलाई संसद विघटन पहिलेपनि यसरी नै सर्वदलीय बैठक राख्नुपथ्र्यो भनेर आफूले कुरा राखेको पौडेलले बताए। उनले भने–‘अहिले चुनावमा जाने बेला भएको छैन। सर्वसम्मत भएर जारी गरेको यो संविधान तोड्ने, फेरी चुनावमा गएर भोली स्थिर सरकार आउँछ, संसद बलियो हुन्छ भनेर कसले जिम्मा लिने ? यसका कुनै ग्यारेन्टी छ। चुनाव मात्र समस्याको सामाधान हो ? सकिएन भने संसदमा निकास दिने काम त प्रधानमन्त्रीको हो नी । देश संकटमा परेको बेला झन झन संकटतिर लाने भनेर कुरा गरेँ।’
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादीका नेता महन्थ ठाकुर, उपेन्द्र यादव लगायतका नेताहरु सहभागी भएका थिए। बैठकमा पूर्व प्रधानमन्त्रीहरु डा.बाबुराम भट्टराई, माधव नेपाल, झलनाथ खनाल भने सहभागी भएनन्। आजको बैठक प्रधानमन्त्री ओली अप्ठेरोमा परेको बेला सजिलो पार्नका लागि राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएको नेता पौडेलले बताए।




















