सिरहा । सिरहाको लहान नगरपालिका – ८ स्थितमा रहेको मालपोत कार्यालय लहानमा केहिसमय अघि बम विस्फोटस्थलबाट जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को पर्चा भेटिएको छ । बम विस्फोट भएको कार्यालयको पहिलो तल्ला स्थित मुठ फाँट नजिक टुक्रा टुक्रा भएको मोर्चाको पर्चा भेटिएको हो ।
विस्फोटक पदार्थ रहेको झोलामै उतm पर्चा राखिएको थियो वा अन्य ठाउँमा यसबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । पर्चामा अध्यक्ष को तलातिर जयकृष्ण गोइतको हस्ताक्षर छ । पर्चामा लेखिएका हरफहरु प्रष्ट पढ्न नसकिनेगरी टुक्रा टुक्रा भएका छन । टुक्रा टुक्रा परेको पर्चा जाडेर प्रहरीले अनुसन्धान गर्ने जनाएको छ ।
विस्फोटबाट घाइते कार्यालयका नायब सुब्बा शिवकुमार यादवलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भैरहेको एसपी सुदिप राज भण्डारीले बताए । घाइते यादवलाई हेलिकप्टरबाट थप उपचार लागि काठमाडौं पठाउँदै छौं, उनले भने । अहिलेसम्मको जानकारी अनुसार उनको अवस्था गम्भीर छ । हेलिकप्टर मगाएका छौं उनले भने । नायब सुब्बा शिव कुमार यादव, सेवाग्राही धनगढीमाइ १३ भोला बहादुर पाछे मगर, धनगढी ४ का दिनेश कुमार भण्डारीको अवस्था चिन्ताजनक रहेको छ, गोलबजार ४ की फुल कुमारी ठाकुर, गोलबजार ६ की बेचनी मगर, लक्ष्मीनारायण मगर, लहान नपा– १६ तरेगनाका लाल बहादुर बिक, भगवानपुर ३ आव्हेनगर बद्री नारायण यादवलगायत ९ जनालाई उपचारका लागि लहान अस्पताल र सप्तरिशी अस्पतालमा भर्ना गरिएको लहान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) तपन दहालले जानकारी दिए ।
भींडभाड भएको बेला कार्यालयको पहिलो तल्लाको मुठ फाँट नजीक कुकर बम विस्फोटक भएको प्रहरीले जनाएको छ । विस्फोटक पदार्थ(कुकर बम) कतिबेला कसले राखेको बारे केहि खुल्न सकेको छैन । विस्फोटबाट कार्यालयमा आगलागी भएको थियो । लहान नगरपालिकाको बारुण यन्त्रले आगो नियन्त्रण गरेको छ । घटनास्थलमा सुरक्षाकर्मीको उपस्थित बाक्लो बनाइएको छ ।
घटनास्थल इलाका प्रहरी कार्यालय लहानबाट एक सय मिटर उत्तरमा छ । इलाका प्रहरी कार्यालयको सम्मुने व्यस्त स्थानमा भएको विस्फोटले लहानबासीलाई त्रसित बनाएको छ ।
यसै बिच बम विस्फोटक हुँदा लहान प्रहरी ढिलो गरि आएको भन्दै उपस्थित सेवाग्राही,लेखनदास तथा कर्मचारीहरु प्रहरी प्रशासन विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !