- काठमाडौं,फागुन २३ गते आइतबार ।।
- जनप्रभाव न्यूज
शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र नेपाल कम्युनिस्ट पार्टी , नेकपा विप्लव समूहबीचको हस्ताक्षर समारोह सकिएको चौबिस घण्टा नसकिँदै विप्लव समूहका नेता तथा कार्यकर्ता नेकपा (बहुमत) मा प्रवेश गरेका छन् । विमल अधिकारीको नेतृत्वमा शनिबार २ सय ५० जना भन्दा बढी नेकपा प्रवेश गरेका हुन्।
लमजुङका अधिकारीले केही समयअघि विप्लवबाट छुट्टिएर क्रान्तिकारी पार्टी गठन गरेका थिए । उनको पार्टीले क्रान्तिकारी पत्रकार संघ,क्रान्तिकारी प्राध्यापक संघ,क्रान्तिकारी विद्यार्थी संघ,क्रान्तिकारी महिला संघलगायत धेरैवटा जनवर्गीय संगठन बनाएको थियो । ती सबै जनवर्गीय संगठनमा गरी झण्डै २५ सय जति प्रतिबद्ध कार्यकर्ता रहेको उनको दाबी छ।
आज तीमध्ये २ सय ५० जनालाई नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले खादा लगाएर पार्टी प्रवेश गराउनुभएको हो । स्रोतका अनुसार पार्टी प्रवेश गराउने प्रयोजनको लागि लकडाउन अघिदेखि नै द्विपक्षबीच कुराकानी भइरहेको थियो।
तर विविध कारणले रोकिएको उक्त अभियानलाई प्रतिगमनविरुद्धको आन्दोलनमासँगै लैजाने भन्दै आजको कार्यक्रम आयोजना गरिएको बताइन्छ ।

















