- मधुबनी , फागुन २० गते बिहिवार ।।
- जनप्रभाव न्यूज
नेपाल–भारतको सीमा क्षेत्रमा हुने अपराधिक कृयाकलाप, लागुऔषध, मदिरा नियन्त्रणका लागि अधिकारीहरुबीच मंगलवार छलफल भएकोछ । गत चैत ११ गतेदेखि बन्द भएको नेपाल भारत सीमा अझै खुलेको छैन् ।आमनागरिकको आवागमन बैकल्पिक मार्गबाट भएपनि सवारी साधन सञ्चालन भएको छैन् ।
तर तस्करीमा भारी बृद्धि भएकोछ ।सीमा क्षेत्रमा हुने अपराधिक गतिबिधि नियन्त्रणका लागि दुवै देशमा सुरक्षा अधिकारीहरुबीच छलफल भएको धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटले बताए । भारत विहार राज्यको मधुवनी जिल्लाको मधुवनीमा धनुषा र मधुवनीका सुरक्षा निकायबीच खुल्ला सीमाको कारण सीमावर्ती क्षेत्रमा ह्ुन सक्ने अपराधिक घटना,मदिरा, लागुऔषध,तस्करी लगायतलाई नियन्त्रण गर्ने विषयमा छलफल भएको उनले बताए ।
धनुषा र मधुवनी जिल्लाको सीमा जोडिएकोछ ।महोत्तरी, सिरहा र सप्तरी जिल्ला समेत नेपालको चारवटा जिल्लाको सीमा मधुवनी जिल्लासित जोडिएकोले सुरक्षासम्बन्धमा दुवै तर्फ चासो बढेकोछ ।‘ नेपाली सीमावर्ती क्षेत्रमा मदिराको बिक्री बितरणप्रति काउण्टरपार्टले चासो देखाए’ एसपी रानाभाटले भने, हाम्रो चासो भारतीय बजारमा खुल्लारुपमा बिक्री हुने लागुऔषधमा थियो । बिहार राज्यमा मदिरा उत्पादन, बिक्री बितरण र सेवनमा कडा प्रतिबन्ध लगाइएकोछ ।
सीमावर्ती नेपाली क्षेत्रमा रहेका मदिरा पसलहरुबाट अवैध रुपमा बिहारमा मदिरा बिक्री हुने गरेको भारतीय अधिकारीहरुको कथन छ ।‘नेपाली सीमामा मदिरा पसल र रेष्टुरेन्टहरुको खुल्ने क्रम अत्यधिक बढेकोछ’ भारतीय अधिकारीहरुको कथन उद्घृतगर्दै धनुषाका एकजना सुरक्षा अधिकारीले भने, त्यसलाई रोक्न ठोस पहल हुनुपर्ने भारतीय अधिकारीहरुको आग्रह थियो । ‘हामीले सीमावर्ती भारतीय क्षेत्रमा रहेका बजारहरुमा खुल्ला रुपमा पाईने लागुऔषधले नेपाली युवा वर्ग कुलतमा फस्ने गरेकोले त्यसमा कडाई गरि नुपर्छ’ एसपी रानाभाटले भने, भारतबाट भइरहेको तस्करीलाई नियन्त्रणमा सहयोग गर्न हामीले काउण्टर पार्टलार्य आग्रह गर्याै ।’
विभिन्न अपराधका फरार अपराधिहरुलाई पक्राउगरि एक अर्कालाई सहयोग गर्ने विषयमा छलफल भएको उनले बताए ।‘सीमाक्षेत्रमा दुवै देशका सुरक्षा अधिकारीहरुले आपसी समन्वयगरि सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन सहमति भएकोछ’ रानाभाटले भने, खुल्ला सीमाको कारण एउटा मुलुकमा घटना गरेर अर्को मुलुकमा लुक्ने प्रवृति छ । भारतबाट नेपालमा अबैध रुपमा नेपाली मुद्रा आउने गरेको विषयमापनि छलफल भएको बताइएको छ ।
बैठकमा मधुवनी जिल्लाका एडिएम(एडिशनल डिष्ट्रिक मजिष्ट्रेट) अवधेश राम, एसपी सत्य प्रकाश र भारतीय चेकपोष्टका प्रमुखहरुको सहभागिता रहेको थियो । धनुषाको तर्फबाट प्रहरी उपरीक्षक रानाभाट सहितका सुरक्षाकर्मिहरुको सभागिता रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !