- काठमाडाैं, फागुन १९ गते बुधबार ।।
- गगन अर्याल
सेनाले एउटै गाडी मर्मतका लागि करीब २ करोड खर्चिने गरी प्रक्रिया अगाडि बढाएको छ । नारायणहिटी दरबार संग्रहालयबाट ल्याइएको ज्याग्वार कम्पनीको लग्जरियस कार मर्मतका लागि यति ठूलो रकम खर्चिनुपर्ने भएको हो । सेनाले नारायणहिटीबाट ल्याएकामध्ये एउटा ल्यान्डरोभर कार आफ्नै ग्यारेजमा मर्मत गरी भीभीआईपीहरूको सवारीमा प्रयोग गर्दै आएको छ ।
ज्याग्वार कम्पनीका अन्य ३ वटा बूलेटप्रुफ कार भने मर्मतको प्रक्रियामा रहेको सेनाले जनाएको छ ।
बजेटको अपर्याप्तताका कारण सेनाले यसपटक एउटा कार मात्र मर्मत गर्ने गरी प्रक्रिया अगाडि बढाएको हो । बजेट उपलब्ध भएपछि अन्य २ कार पनि मर्मत गर्ने सेनाको तयारी छ ।
सैनिक जनसम्पर्क निर्देशनालय जंगी अड्डाका निर्देशक तथा सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलका अनुसार उक्त कारमा शिशा र टायर राख्नका लागि टेन्डर आह्वान गरेर आशय पत्रसमेत स्वीकृत भइसकेको छ ।
-
फागुन महिनाको अन्तिमसम्ममा सम्झौता गरिने उनले बताए ।
‘हामीले त्यो गाडीको शिशा र टायर फेर्नका लागि बोलपत्र आह्वान गरिसकेका छौं, त्यसको आशय पत्र पनि भैसकेको छ । यो महिनाको अन्तिमसम्म सम्झौता गरेर मर्मतको काम थाल्छौं,’ सहायक रथी पौडेलले लोकान्तरसँग भने, ‘यसका लागि प्रतिगोटा २ करोड खर्च हुने देखिएको छ ।’
पुराना गाडी भएकाले नेपालमा त्यसको कुनैपनि स्वरूम, मर्मत गर्ने ग्यारेज र पाटपूर्जा नहुँदा कम्पनीबाटै मगाएर मर्मत गर्नुपर्ने अवस्था रहेको प्रवक्ता पौडेलले बताए । मर्मतका लागि सामान ल्याउन २ वटा कम्पनीले टेन्डर हालेका थिए । त्यसमध्ये कम रकम उल्लेख भएको टेन्डर स्वीकृत गरी सम्झौता गर्न लागिएको सेनाले जनाएको छ ।प्रवक्ता पौडेलका अनुसार सामान ल्याउने कम्पनीले नै मर्मतका लागि प्राविधिक सहयोग पनि गर्नुपर्ने हुन्छ ।
‘उक्त कम्पनीले एउटा गाडीको शिशा र टायरका अलवा अन्य पार्टपूर्जा र टेक्निकल असिस्टेन्ट पनि उपलब्ध गराउने गरी सम्झौता हुन्छ,’ प्रवक्ता पौडेलले भने । मर्मत गरिसकिएको गाडी भने सेनाले विशिष्ट व्यक्तिहरूको सवारीका लागि प्रयोग गर्दै आएको छ । नेपाली सेनाले २०७५ असोज ७ गते नारायणहिटी संग्रहालयबाट सन् २००२ मोडलको एउटा ल्यान्डरोभर र २००४ मोडलका ३ वटा ज्याग्वार बुलेट प्रुफ कार ल्याएको थियो ।
तत्कालीन राजा, रानी र उनका आफन्तहरूले प्रयोग गर्दै आएका ११ वटा बुलेट प्रुफ कारमध्ये एउटा कार उपराष्ट्रपति नन्दबहादुर पुनले चढ्दै आएका छन् ।चारवटा कार नेपाली सेनासँग छ भने अन्य कारहरू नेपाल प्रहरीले भीभीआईपीको सवारीका लागि प्रयोग गर्दै आएको छ ।

















