- काठमाडौँ, फागुन १८ गते मंगलवार ।।
- जनप्रभाव न्यूज
संयुक्त राष्ट्र संघअन्तर्गत दक्षिणी सुडानको राजधानी जुवामा तैनाथ विभिन्न देशका युनिटमध्ये सशस्त्र प्रहरी बल, नेपालको फर्म्ड पुलिस युनिट (एफपीयू–१) सर्वोत्कृष्ट भएको छ । अनमिस पुलिस कमिसनर युनेसी लुतु भुनीवाकाद्वारा एलिन पिकेरिङको नेतृत्वमा गठित चार सदस्यीय कार्य सम्पादन परीक्षण तथा मूल्यांकन समितिले नेपालको एफपीयू–१ लाई सर्वोत्कृष्ट युनिट घोषणा गरेको हो ।
दक्षिणी सुडानको जुवामा विभिन्न देशका ६ वटा एफपीयू तैनाथ छन् । समितिले तयार पारेको प्रतिवेदनमा नेपाल एफपीयूले शतप्रतिशत नतिजा पाई उत्कृष्ट घोषित भएको उक्त युनिटका कमाण्डिङ अफिसर सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कुमार न्यौपानेले बताए । मूल्यांकनका लागि छुट्याइएका विधा मिशन कार्यादेशको ज्ञान र समर्थन, कमाण्ड एन्ड कन्ट्रोल, नागरिक सुरक्षा, अप्रेशनल रेडिनेश र क्षमता, बन्दोबस्ती क्षमता, प्रशासन, तालिम र स्वास्थ्य तथा कल्याणकारी हुन् । प्रत्येक बिधामा अधिकतम चार/चार अंकका दरले ३२ पूूर्णांक छुट्याइएको थियो ।
१८ फेब्रुअरी सन् २०२१ मा लिइएको उक्त परीक्षण तथा मूल्यांकनमा नेपालको युनिटले ३२ अंक नै ल्याउन सफल भएको हो ।सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक न्यौपानेले नेतृत्व गरिरहेको उक्त डप्फामा डिपुटि कमाण्डिङ अफिसर सशस्त्र प्रहरी नायब उपरीक्षक शिवप्रसाद गैहे, चिफ लजिष्टिक अफिसर सशस्त्र प्रहरी नायब उपरीक्षक रामजंग पाण्डे र चिफ अप्रेशन अफिसरको जिम्मेवारीमा सशस्त्र प्रहरी नायब उपरीक्षक अरुण कुमार शर्मा छन् ।
उक्त एफपीयूमा ३४ जना महिला सशस्त्र प्रहरी कर्मचारीसहित १८० सशस्त्र प्रहरी अधिकृत तथा जवान कार्यरत छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !