- कञ्चनपुर,फागुन १७ गते सोमबार ।।
- जनप्रभाव न्यूज
दुईतिर भारतसित सिमाना जोडिएको कञ्चनपुर जिल्लामा लागुऔषध कारोवार गर्ने नेपाली तथा भारतीय गिरोहमाथि प्रहरीले कारवाही बढाएको छ। खुला सिमानाका कारण लागुऔषधको कारोवार गर्ने गिरोह पक्राउ गर्न केही महिनायता सक्रियरुपमा लागेको कञ्चनपुर प्रहरीले लामो समयदेखि खैरो हिरोइन र ब्राउनसुगरलगायतका लागुऔषधको कारोवार गर्ने मुख्य गिरोहको पहिचान गरिसकेको छ।
पछिल्लो केही दिनयता लागुऔषध नियन्त्रणमा गति बढाएको प्रहरीले भारतीय र नेपाली गिरोहका मुख्य दुई व्यक्ति पक्राउ गरेपछि लागुऔषध कारोवारको जालो भत्काउन प्रहरी सफलतातर्फ उन्मुख देखिएको छ।
डेढ महिनामा लागुऔषध कारोवार र उपभोग गर्ने ३२ पक्राउ गरेको प्रहरीले कारोवार गर्ने गिरोहका भारतीय र नेपाली युवक पक्राउलाई आफ्नो सफलता मानेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँ लामो समयदेखि भारतबाट लागुऔषध आयात हुने र यहाँबाट लुकीछिपी चरेश भारत जाने गरेको छ।
लागुऔषध दुव्र्यसनमा परेका युवाकै कारण समाजमा घटना बढिरहेको आँकलन गरेको प्रहरीले अहिले सीमा क्षेत्रमा सक्रियरुपमा त्यसमा संलग्न कारोवारीलाई नियन्त्रणमा लिने र यहाँका विभिन्न स्थानमा लागुऔषध न्यूनीकरणका लागि सचेतनामूलक अभियान नै सञ्चालन गरेको छ।
डेढ महिनाअघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नेतृत्व सम्हाल्नु भएका प्रहरी उपरीक्षक ( एसपी ) उमाप्रसाद चर्तुवेदीले लागुऔषध कारोवारमा सक्रिय ठूला गिरोहमाथि अत्यधिक निगरानी बढाइएको बताए।’यहाँ आएको थोरै समयमा मैले २० देखि ३० प्रतिशत लागुऔषध नियन्त्रणको दायरामा ल्याइसकेको छु ।’ उनले भने, ‘यस चालु आर्थिक वर्षमा मात्रै ३९० ग्राम खैरो हिरोइन बरामद गरेको छौँ, यो ठूलो परिणाम हो ।’
उनले युवा पिढी लागुऔषध र अन्य दुव्र्यसनमा लिप्त देखेपछि त्यसको नियन्त्रणका लागि कारवाही र सचेतना सँगसँगै थालेको बताए।

















