- काठमाडौं,फागुन ८ गते सनिवार ।।
- जनप्रभाव न्यूज
नेपाल कम्युनिस्ट पार्टी , नेकपा ( प्रचण्ड–नेपाल समूह) को अन्त्य हिटलरको प्रचारमन्त्री गोयबल्सको जस्तै हुने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बताएका छन् । शनिबार विराटनगरमा आयोजित विशाल सभालाई सम्बोधनका क्रममा प्रचण्ड–नेपाल पक्ष हिटलरका प्रचारमन्त्री गोयबल्सजस्तै सय पटक झूठोलाई सत्यमा रुपान्तरण गर्न खोजिरहेको उनले बताएका हुन् ।
उनले भने, ‘यिनीहरुको अवस्था पनि हिटलरकै जस्तो हुनेछ । गोयबल्स नीति सावित हुने छैन । अन्ततः त्यतिबेला हिटलरहको षड्यन्त्रलाई जनताले चिने र उनको अन्त्य भयो ।’
जस्केलाबाट सरकारलाई अपदस्थ गराउने अभियान प्रतिगामी कि अग्रगामी हो भन्दै उनले प्रश्न गरेका छन् । यसकारण यी सबै अवसरवादका रुपहरु भएको उनले बताए ।
सम्बोधनका क्रममा घुमाउरो भाषामा प्रधानमन्त्री ओलीको उनले निकै प्रशंसा गरेका छन् । उनले भनेका छन्, ‘१ नम्बर प्रदेश सामन्त वर्गविरुद्ध झण्डा उठाउने ठाउँ हो । देशभक्त ठाउँ हो । लोकतन्त्र, गणतन्त्रका निम्ति योद्धा जन्माउने प्रदेश हो । अहिले देश हाँक्ने व्यक्तित्व जन्माउने प्रदेश पनि हो ।’
देशलाई प्रतिगमनबाट जोगाउन सिंगो देश एकजुट भएको उनले बताएका छन् । मेचीदेखि महाकालीसम्मका सबै नागरिकको इच्छा, आकांक्षा पूरा गर्न नयाँ अभियानमा अघि बढिएको पनि उनले बताए ।
मुलुकलाई बाह्य शक्तिबाट नभई आन्तरिक शक्तिबाट देशलाई अस्थिरतातर्फ धकेलेको उनले बताएका छन् । आफ्नै पार्टीका अवसरवादी, गुटवादी र पदलोभीहरुले यस्तो अवस्था सिर्जना गरेको उनले बताए ।
‘देशलाई अस्थिरतार्फत धकेलेर देशलाई कसरी अस्थिर र प्रतिगामी बनाउने भनेर नेकपामा लुकेर बसेका अवसरवादीहरु खुसी भएका छन् । तर, आम जनता दुःखी र आक्रोशित भएका छन् । आज हामी मेचीदेखि महाकालीसम्म गुटवादीविरुद्ध यो अभियान पनि चलाइरहेका छौँ । यो पार्टी शुद्धिकरण अभियान पनि हो ।’ उनले सम्बोधनका क्रममा भने ।
सरकारको तीन वर्षको अवधिमा गुण्डागर्दीको अन्त्य गरिएको, निर्मलाको हत्यारालाई पनि चाँडै कानुनको कठघरामा उभ्याउने उनले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !