-
काठमाडौं ,फाल्गुन ४ गते सोमबार ।।
-
जनप्रभाव न्यूज
सोमबार सिंहदरबारमा सरकारको तीनवर्षे कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस ब्रिफिङ कार्यक्रम थियो । प्रतिनिधि सभा विघटन गरेपछि भौतिक रुपमा निकै सक्रिय देखिएका प्रधानमन्त्री केपि शर्मा ओलीको सोमबारको सुरक्षा घेरामा सबैको नजर पर्यो । विगतभन्दा केही फरक रुपमा सादा पोशाकका सुरक्षाकर्मीको घेरामा थिए प्रधानमन्त्री ओली ।
सामाजिक सञ्जालमा पनि यसबारेमा व्यापक छलफल भएको छ ।
यसअघि भीआईपी र भीभीआईपीहरुलाई बक्स आकारको सुरक्षा दिइन्थ्यो । बक्स आकारको सुरक्षामा दुईजना सुरक्षाकर्मी अघि, दुईजना पछि र एकजना भीभीआईपीसँगै हुन्थे । प्रायः नेपालमा विशिष्ट व्यक्तिहरुलाई दिइने सुरक्षा भनेको बक्स आकारकै हो ।
तर प्रधानमन्त्री ओलीलाई सोमबार भने ‘वाइ टाइप क्याटागोरी सेक्युरिटी’ दिइएको थियो ।
सिंहदरबारभित्रै असुरक्षित रहेको सन्देश दिने किसिमले प्रधानमन्त्री कार्यालयमा भइरहेको कार्यक्रममा उनलाई सुरक्षा प्रदान गरिएको थियो । जानकारहरुका अनुसार ‘वाइ टाइप क्याटागोरी सेक्युरिटी’ भनेको वाइ आकारमा दिइने सुरक्षा हो । जानकारहरुका अनुसार यो सुरक्षामा १२ जना खटिएका हुन्छन् । जसमा नेपाली सेना र नेपाल प्रहरीको टोली हुन्छ । सेनाको नेतृत्व मेजरले गर्छन् भने प्रहरीतर्फको नेतृत्व प्रहरी नायव उपरीक्षकले गर्छन् । खटिएको टोली आपसी ‘को–अर्डिसनेसन’ मा परिचालन हुन्छ ।
तर सामान्य अवस्थामा यस्तो प्रकारको सुरक्षा भने दिइँदैन । उच्च सुरक्षा खतरा भएका व्यक्तिहरुलाई यस्तो सुुरक्षा दिइने सुरक्षा स्रोतले जनप्रभावलाई जानकारी दिनुभयो ।
नेपालभन्दा छिमेकी देश भारतमा यो सुरक्षा घेरा बढी प्रचलनमा छ । केही दिनअघि भारतीय अभिनेत्री कंगना रनावतलाई समेत यस्तै प्रकारको सुरक्षा दिइएको थियो । नेपालमा पनि यो नयाँ प्रयोग भने होइन । जानकार सुरक्षा अधिकारीहरु भन्छन्, “पहिले पहिले राजालाई यस्तै सुरक्षा दिइन्थ्यो । जनयुद्धकालमा सुरक्षा थ्रेट बढेपछि कहिलेकाहिँ प्रधानमन्त्रीलाई पनि दिने गरिएको थियो । तर गणतन्त्र आएपछि पहिलोपल्ट प्रधानमन्त्री ओलीलाई यसरी सुरक्षा व्यवस्था गरेको पाइयो ।”
सुरक्षाका हिसाबले सिंहदरबार अति सुरक्षित स्थानमध्येको एक हो । तर प्रधानमन्त्री ओलीलाई भने सिंहदरबारभित्रै उच्च जोखिममा दिइने सुरक्षा दिइनुलाई कतिपयले आश्चर्यको रुपमा लिएका छन् ।
सादा पोशाकमा खटिने सुरक्षा टोलीको काम भने भीभीआईपी नजिकै सहजै कोही आउन नपाउन् भन्ने रहेको एक सुरक्षा अधिकारीले बताए । यसबाहेक कालोझण्डा देखाउनसक्ने, भीडबाट कुनै वस्तु प्रहार गर्न सक्नेलगायतका अन्य सुरक्षा चुनौतीको सामना गर्न भीआईपीहरुलाई सुरक्षा प्रदान गरिन्छ ।
यसअघि पनि उल्लेख्य मात्रामा सुरक्षाकर्मीहरु प्रधानमन्त्रीको सुरक्षामा खटिने गरेको भए पनि धेरैलाई थाहा नहुने तर यसपटक ठाउँका कारण पनि त्यस्तो देखिएको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !