- काठमाडौं,फाल्गुन ४ मंगलवार ।।
- जनप्रभाव न्यूज
काठमाडौं जिल्ला अदालतमा इजलास अधिकृत र फाँटका कर्मचारीबीच आदेशलाई लिएर हात हालाहाल भएको छ। न्यायाधीशकै सामुन्ने भएको हात हालाहालमा इजलास अधिकृत गोकर्ण शर्मा घाइते भएका छन्।
नायब सुब्बा नेत्रप्रसाद बास्तोला र शर्माबीच हात हालाहाल भएको हो। अदालत स्रोतका अनुसार यसअघि भइसकेको आदेशको व्यहोरालाई लिएर शर्मा र बास्तोलाबीच विवाद हुँदा हात हालाहाल स्थिति भएकाे हो।
अदालतका श्रेष्तेदार भीम निरौलाले घटना भएको बताउँदै अनुसन्धान भइरहेको छ। ‘साेमबार इजलासमा दुई कर्मचारीका बीचमा घटना भएको छ। दुवैको दाबी पहिले अर्कैले आक्रमण गरेको भन्नेछ’, उनले भने, ‘अनुसन्धान भइरहेको छ।’
आक्रमणपछि एक कर्मचारीकाे नाकबाट रगत बगेको छ। सुब्बाले छानबिन गरिपाउँ भनेर निवेदन दिएका छन्। अनुसन्धान अनुसार दोषीलाई कारबाही हुने श्रेष्तेदार निराैलाले बताए।
१४ नम्बर इजलासमा न्यायाधीश प्रकाशचन्द्र अधिकारीको सामुन्ने उक्त घटना भएको थियाे। सोमबार इजलास प्रारम्भ भएर न्यायाधीश अधिकारी मिसिल अध्ययनकै सिलसिलामा रहेको अवस्थामा दुई जनाबीच झगडा भएको हो।
झगडाले केही समय अन्य इजलास पनि प्रभावित भएको थियो। निरौलाका अनुसार दुईबीच यसअघि भएको आदेश कुन व्यहोरामा सही गराउने भन्नेमा विवाद शुरु भएकाे थियाे।
फेसबुकबाट तपाईको प्रतिक्रिया !