- काठमाडौं , फाल्गुन २ गते आइतबार ।।
- जनप्रभाव न्यूज
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ओली पक्ष ) का महसचिव एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी वैशाखमा हुन लागेको चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने दावी गर्नुभएको छ ।
शनिबार बुटवलमा आयोजित आमसभालाई सम्बोधन गर्दै दुनियाँको कुनै पनि तागतले रोक्न नसक्ने बताउँदै आगामी चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने उहाँले दाबी गर्नुभएको छ ।
आमसभालाई सम्बोधन गर्दै आगामी वैशाखमा चुनाव हुँदैन भन्ने भ्रमको पछि नलाग्न पनि उहाँले आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘केहीकेही तत्वहरुले भ्रम सिर्जना गर्ने कोशिस गरिरहेका छन्, वैशाखमा चुनाव हुँदैन। चुनाव हुँदैन भने के हुन्छ ?’
आगामी वैशाखको १७ र २७ गते नै निर्वाचन हुने बताउँदै कुनै पनि तागतले निर्वाचन रोक्न नसक्ने उहाँको भनाई छ । ‘म बताउन चाहन्छु, वैशाखको १७ र २७ गते चुनाव हुन्छ, दुनियाँको कुनै पनि तागतले चुनावलाई रोक्न सक्दैन । तपाईंहरु जनसभाबाट फर्किएपछि चुनावको तयारीमा लाग्नुहोस्।’

















