-
काठमाडौं,माघ २४ गते सोमबार ।।
-
जनप्रभाव न्यूज
नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक ( डिएसपी ) बाट प्रहरी उपरीक्षक ( एसपी ) भएका १६ अधिकृतले गत बिहीबार फुली लगाए । फुली लगाएको चार दिन हुँदा समेत उनीहरुले जिम्मेवारी पाउन सकेका छैनन् । सामान्यतया फुली लगाएको दिन बढुवा भएका अधिकृतको पदस्थापन हुन्छ । तर, यसपटक एसपीको सरुवामा देखिएको विवादले पदस्थापन समेत प्रभावित भएको छ ।
स्रोतका अनुसार प्रहरी उपरीक्षकको सरुवामा मुख्य विवाद चितवनमा छ । जहाँ प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादल नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का अध्यक्ष प्रचण्ड विरोधी एसपीलाई लैजान चाहेका छन् । तर, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले त्यसलाई अस्वीकार गरेका छन् । उनले राजनीतिक दलप्रति तटस्थ रहने एसपी पठाउन खोजेका छन् ।
त्यही विवादका कारण गत महिनाको एसपीको सरुवामा पनि चितवनका एसपी हेरफेर भएन । यसपटक एसपीको सरुवा र पदस्थापन एकैपटक गर्न लागिएको छ । तर, चितवनमा कुरा नमिल्दा आइतबार पनि निर्णय हुन नसकेको स्रोत बताउँछ ।
यसअघि चितवनमा सामान्यतया प्रचण्ड निकट एसपीलाई पठाउने गरिएको छ । पूर्व प्रधानमन्त्रीको गृहजिल्लामा एसपीको सरुवा गर्दा सामान्यतया सहमति लिने चलन प्रहरीमा छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !