- काठमाडौं ,माघ २६ गते सोमबार ।।
- जनप्रभाव न्यूज
नेपालसँग सीमा जोडिएका भारतको बिहार राज्यस्थित पूर्वी चम्पारण जिल्लामा १२ वर्षीया नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ। बालिकाको शव प्रहरीकै सहयोगमा जलाइएको बिबिसीले जनाएको छ। प्राथमिक जाँच र एक भाइरल अडियोका आधारमा पूरै घटनामा स्थानीय प्रहरीचौकीका प्रमुख सहयोगीका रुपमा रहेको देखिएको बिबिसीले जनाएको छ। बिबिसीका अनुसार एसपी नवीनचन्द्र झाको भनाइ उद्धृत गर्दै भाइरल भएको अडियोमा थानाध्यक्ष सञ्जीवकुमार रञ्जनको लापरबाही देखिएको जनाइएको छ। रञ्जनलाई निलम्बन गरिएको र उनका विरुद्ध एफआइआर दर्ता गराइने एसपी झाले बताएका छन् । मृतक बालिकाका बाबु रमेश (नाम परिवर्तन) नेपालको बर्दिया जिल्लास्थित बारबर्दिया नगरपालिकाका स्थायी बासिन्दा हुन् । उनी विगत सात वर्षदेखि बिहारको मोतिहारीस्थित कुन्डवा चैनपुरमा मजदुरी गर्थे। उनका अनुसार यो घटना २१ जनवरीको हो। सुरेशकी पत्नी नेपाल नेपाल आएका बेला र उनी आफू मजदुरी गर्न गएका बेला यो घटना भएको हो। उनका छोरा कुनै कामले बजार गएका बेला एक्लै रहेकी बालिकामाथि सामूहिक बलात्कार भएको हो। झाका अनुसार ४ बजे छोरा बजारबाट फर्किने क्रममा घरबेटीले उनलाई घरमा जान रोकेको, जबरजस्ती जाँदा बहिनी घाइते अवस्थामा जमिनमा रहेको उल्लेख गरिएको छ। घटनाका बारेमा छोराले जानकारी गराएपछि आफू तत्काल घर पुगेको, छोरीको घाँटीमा निल डाम देखेको र तत्कालै अस्पताल लगे पनि उपचार नभएको सुरेशले जनाएका छन्। त्यसलगत्तै घटनामा संलग्नहरू एकै ठाउँमा जम्मा भएर बालिकाको शव जलाउन दबाब दिएको बाबु सुरेशले जाहेरीमा उल्लेख गरेका छन् ।
बालिकाको बलात्कारपछि हत्यामा संलग्न देवेन्द्रकुमार साहले बालिकाको शव तत्कालै नजलाएमा बाबुछोराको नै हत्या गरेर नेपालमा फालिदिने धम्की दिएको, पछि सादा कागजमा औंठा छाप लगाएर राति १२ बजे जबरजस्ती सडक किनारमा नुन र चिनी राखेर जलाइएको र बिहानै सुरेशलाई नेपाल लखेटेको जाहेरीमा उल्लेख गरिएको छ।
घटना भएको १२ दिनपछि मात्र फरवरी २ मा अपराधीविरुद्ध भारतीय दण्डसंहिताअनुसार कारबाही माग गर्दै जाहेरी दर्ता भएको छ। घटनामा ११ जनालाई अभियुक्त बनाएर जाहेरी दिइएको छ। उक्त घटनाका बारेमा प्रहरीलाई जाहेरी दिएपछि शुक्रबार एक अडियो भाइरल भएको थियो। जसमा २१ जनवरीमा नेपाली बालिकामाथि भएको सामूहिक बलात्कार र हत्याका बारेमा स्थानीय थानाध्यक्ष सञ्जीवकुमार रञ्जन र अभियुक्त रहेश साहबीचको कुराकानी छ। उक्त कुराकानीमा थानाध्यक्षले अभियुक्तलाई मृतक बालिकाको शव व्यवस्थापन गरेर उनको चिसोका कारण मृत्यु भएको बताउन भनेका छन्। घटनामा संलग्न दुईजनालाई गिरफ्तार गरिसकिएको र बाँकी अभियुक्तलाई पनि गिरफ्तारीको तयारी भइरहेको प्रहरीले जनाएको बिबिसीले लेखेको छ।
पीडित परिवारले स्थानीय सामाजिक कार्यकर्ता पुष्पा किशोरसँग भिडियो कलमा कुरा गर्दै भारतमा सबै लाग्नेमान्छे र प्रहरी उस्तै हुन्छन् भन्दै प्रश्न गरेको र न्यायको याचना गरेको बिबिसीले लेखेको छ। प्रमाण नष्ट गर्न पोस्टमार्टम नगरिएको र बालिकालाई जलाइएको जनाइएको छ। ३१ जनवरीमा मोतिहारीस्थित आफू बस्दै गरेको घरमा पुगेकी बालिकाकी आमा छाती पिटीपिटी रोएको र न्यायको याचना गरेको सामाजिक कार्यकर्ता पुष्पाले जनाएको समाचारमा उल्लेख गरिएको छ। बिबिसी
फेसबुकबाट तपाईको प्रतिक्रिया !