- काठमाडौं ,माघ २६ गते सोमबार ।।
- जनप्रभाव न्यूज
प्रधानसेनापति पूर्णचन्द्र थापाले सीमा विवाद समाधान गर्न नेपालले मित्रराष्ट्रहरूसँग ऐतिहासिक तथ्यहरूका आधारमा सशक्त रूपमा धारणा राख्नुपर्ने बताएका छन् । सैनिक मुख्यालयमा आइतबार राष्ट्रिय सुरक्षा परिषद् सचिवालयद्वारा आयोजित ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरूबीच समन्वयका क्षेत्र’ विषयक दुईदिने सेमिनारमा उद्घाटन मन्तव्य राख्ने क्रममा थापाले सीमा सुरक्षा विवादबारे धारणा राखेका हुन् ।
प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा र अन्य सुरक्षा निकायका प्रमुख उपस्थित कार्यक्रममा प्रधानसेनापति थापाले भने, ‘हाम्रो विकट भौगोलिक बनावट, खुला सिमाना तथा अन्य विविध कारणले गर्दा बेलाबखत मित्रराष्ट्रसँग सीमासम्बन्धी विविध कुरा उठ्ने गरेका छन् । त्यस्ता विषयमा ऐतिहासिक तथ्यमा आधारित रही सशक्त रूपमा आफ्नो धारणा मित्रराष्ट्रहरूसँग राख्नुपर्छ र राख्नेसमेत गरेका छौं ।’ प्रधानसेनापति थापाको भनाइ नेपालले भारतसँग सन् १८१६ को सुगौली सन्धि र त्यसपछि उपलब्ध सम्पूर्ण प्रमाणलाई राखेर वार्ता गर्नुपर्नेतर्फ लक्षित छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !