- काठमाडौं ,माघ २० गते मंगलवार ।।
- जनप्रभाव न्यूज
प्रधानमन्त्री ओलीको बिश्वासपात्र मुख्यमन्त्री शंकर पोखरेल फेरि एक पटक विवादमा तानिएका छन् । भूमिसम्बन्धि समस्या समाधान आयोग दाङ जिल्लाको अध्यक्षमा उनका ज्वाइँ शिवकुमार आचार्यलाई सरकारले मनोनित गरेपछि ‘शक्तिको आडमा नियुक्त गरिएको भन्दै मुख्यमन्त्रीको आलोचना भएको हो ।
यसअघि रोल्पाको धाङ्सी खोलामा गएको असोजमा नै ठेक्का सम्झौता भई २५ प्रतिशत भौतिक प्रगति रहेको पुलको शिलान्यास गरेर विवादमा तानिएका थिए ।
नेपाल सरकारले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान गरी भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको थियो । १५ गतेको मन्त्रिपरिषद् बैठकले ७७ जिल्लामा अध्यक्ष र सदस्य नियुक्त गर्नेक्रममा दाङमा मुख्यमन्त्रीका बहिनी ज्वाइँ नियुक्त भएका हुन् । समितिको विज्ञ सदस्यमा रेवन्त चौधरी र सदस्यमा हेमराज पुन मनोनित भएका छन् ।
भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा जिल्ला अध्यक्ष र २ सदस्य गरी ७७ जिल्लामा २३१ जना जिल्ला समितिका पदाधिकारी सरकारले नियुक्त गरेको हो । अहिले भूमि सम्बन्धी समस्या समाधान आयोगको अध्यक्ष देवी ज्ञवाली छन् । मुख्यमन्त्री पोखरेल र ज्ञवाली दुवै नेकपा अध्यक्ष केपी ओली निकट मानिन्छन् । जिल्लामा नियुक्त भएका आयोगका पदाधिकारीको सपथ माघ २४ गते प्रधानमन्त्री कै उपस्थितीमा हुने तय भएको छ ।
यसो त आफन्तलाई ‘नियुक्त दिलाएको’मा मुख्यमन्त्री पोखरेल पहिलो पटक विवादमा आएका होइनन् । यसअघि आफ्नी बहिनी मेनका पोखरेल(शिवकुमार आचार्यकी पत्नी) लाई विभाजित नेकपा ओली समुहको केन्द्रीय सदस्य बनाएको भन्ने उनलाई आरोप लागेको थियो । यसअघि दाइ देवी पोखरेललाई विभाजित हुनुभन्दा अगाडि नेकपा घोराही उपमहानगरको इन्चार्ज पनि बनाएकोमा मुख्यमन्त्रीका विपक्षीहरुले कटाक्ष गरिरहन्छन् । पोखरेलकी पत्नी सुजिता शाक्य जनजाती कोटाबाट समानुपातिक सांसद छिन् ।
शिवकुमार आचार्य आयोगमा नियुक्त भएपछि ‘मुख्यमन्त्रीले तागत देखाएको’ भन्दै तत्कालीन नेकपा एमाले दाङका अध्यक्ष (हाल प्रचण्ड–माधव समुहमा रहेका) जोगबहादुर रानाले सामाजिक सञ्जालमा कटाक्ष फ्याँके ।
‘देख्यौ त तागत । आफू मुख्यमन्त्री, श्रीमती सांसद्, दाई उप-महानगरको अध्यक्ष, बहिनीलाई हालै नेकपाको केन्द्रीय सदस्य, ज्वाइँलाई भूमि तथा सुकुम्बासी दाङको अध्यक्ष ! गणतन्त्र कस्लाई आएको रहेछ ?’–उनले लेखेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !