- काठमाडौं,माघ १९ गते सोमबार ।।
- जनप्रभाव न्यूज
प्रतिनिधिसभा विघटन असंवैधानिक भएको जिरहसहित सर्वोच्च अदालतमा परेका १३ वटा रिट निवेदनका निवेदकको तर्फबाट बहस सकिएको छ ।प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेका सबै रिटलाई सर्वोच्च अदालतले संवैधानिक इजलासमा लगेपछि ०७७ माघ ४ गतेबाट बहस भइरहेको छ । निवेदकको तर्फबाट आइतबार बहस सकिएको छ । सर्वोच्च अदालतका अनुसार, १३ कार्यदिनमा निवेदकको तर्फबाट ६३ जनाले बहस गरेका छन् । निवेदकको पक्षमा बहसका लागि ३ सयभन्दा बढीले वकालतनामा गरेकोमा ६३ जनाले मात्र सहभागी बनेका हुन् ।
सर्वोच्च अदालतका अनुसार, ०७७ माघ १९ गतेदेखि विपक्षीका तर्फबाट बहस सुरु हुँदैछ । सरकारी वकिलको तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलसहित १३ जनाले बहस गर्दैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भने पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता सुशील पन्त, वरिष्ठ अधिवक्ताहरू रविनारायण खनाल, महेश नेपाल, नेपाल बार एसोसिएसनका कोषाध्यक्ष रुद्र पोखरेललगायतले बहस गर्ने बताइएको छ ।

















