-
जनकपुरधाम , माघ १८ गते आइतबार ।।
-
जनप्रभाव न्यूज
प्रहरीले जिल्लाका विभिन्न ठाउँमा मोटरसाइकल चोरी गर्ने पाँच जनालाई पक्राउ गरेको छ । मोटरसाइकल चोरी भएको उजुरी परेपछि धनुषा प्रहरीले सक्रियता बढाउँदा चोरीमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिराहाको बिष्णुपुर गाउँपालिका–२ का २१ वर्षीय प्रमोदकुमार यादव, २२ वर्षीय मनोजकुमार यादव, सोही गाउँपालिकाको वडा नम्बर ३ बस्ने २१ वर्षीय रोहितकुमार यादव, २३ वर्षीय जितेन्द्रकुमार यादव र धनुषाको सबैला नगरपालिका–४ बस्ने २० वर्षीय अमरेन्दकुमार यादव छन् ।
जितेन्द्र बाहेकका चारैजना सर्वसाधारणको मोटरसाइकल चोर्ने र जितेन्द्रले भने चोरीको मोटरसाइकल किन्ने गरेको अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटले बताए ।
शनिबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर – ५ सखुवा बजारबाट दिउँसो सशस्त्र प्रहरी जवान मिथिलेश यादवको ज ८ प ८७७५ नम्बरको अपाची मोटरसाइकल क्षिरेश्वरनाथ नगरपालिका–५ बाट चोरी भएको थियो । त्यसको खोजीमा जुटेका धनुषा प्रहरीले मोटरसाइकल चोर गरोहलाई नै पक्राउ गरेको हो ।
उक्त चोरीको मोटरसाइकलसहित प्रहरीले रोहितलाई क्षिरेश्वरनाथ नगरपालिका–९ स्थित जलाद खोला हुँदै जाने क्रममा पक्राउ गरेपछि उनले अन्य ३ वटा मोटरसाइकल पनि आफूले नै चोरी गरेको स्वीकारेका थिए ।
रोहितकै बयानका आधारमा ज १२ प ६११८ नम्बरको २ सय सीसीको पल्सर, स ७ प ५२०३ नम्बरको डिस्कभर र को ३२ प ७६४ नम्बरकमे स्प्लेन्डर मोटरसाइकल प्रहरीले बरामद गरेको छ । रोहितले चोरी गरेको अन्य तीन पटा मोटरसाइकल उनकै डेरा क्षिरेश्वरनाथ नगरपालिका–५ बाट प्रहरीले बरामद गरेको हो । उनको डेराबाट मोटरसाइकल चोरीमा प्रयोग हुने उपकरणसमेत बरामद भएको एसपी रानाभाटले बताए ।
अनुसन्धानको क्रममा प्रमोद र अमरेन्द्रको साथबाट स ४ प ५७४६ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल बरामद भएको उनले जानकारी दिए। यस्तै क्षिरेश्वरनाथ नगरपालिकाबाटै चोरी भएको ना ३९ प ६३८२ नम्बरको मोटरसाइकलसहित मनोजलाई पक्राउ गरिएको छ भने यो मोटरसाइकल किन्ने जितेन्द्रलाई पनि प्रहरीले पक्राउ गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !