- काठमाडौं ,माघ ९ गते शुक्रबार ।।
- जनप्रभाव न्यूज
नेपाली सेनाका प्रमुख प्रधानसेनापति पूर्णचन्द्र थापाले संवैधानिक दायित्व निर्वाह गर्न नेपाली सेना सदैव तयार रहनु पर्ने बताएका छन् । शुक्रबार जङ्गी अड्डास्थित सगरमाथा हलमा सेनाको हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम समापन गर्दै उक्त कुरा बताएका हुन् ।
नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा असाेज ११ गतेबाट संचालन भइरहेको सि.सं. ८ हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम शुक्रबार प्रधानसेनापति थापाले समापन गरेका हुन् ।
त्यस्तै उनले हालसालै जारी भएको राष्ट्रिय सुरक्षा नीतिबाट र यसबाट विकसित हुने राष्ट्रिय प्रतिरक्षा नीति र राष्ट्रिय सैनिक रणनीति नेपाली सेनाको लागी महत्वपूर्ण स्ट्याटेजिक गाइडेन्सको रुपमा स्थापित हुने विश्वास समेत व्यक्त गरे। उक्त तालिमका शिक्षार्थीहरुसँग भएको अन्तरक्रियामा प्रधानसेनापति थापाले संगठनको भिजन र मिशनका बारेमा साझा बुझाई निर्माण गर्न तथा नेपालको आफ्नै परिवेश र माटो सुहाँउदो सैनिक रणनीति र नेपाली सेनाको विशिष्ट आवश्यकतालाई परिपूर्ति गर्ने उद्धेश्यलाई मध्यनजर गरेर यो तालिमको डिजाइन गरिएको हुनाले यसको विशेष महत्व भएको बताए ।
नेपाली सेनालाई पद्धति र प्रणालिमा आधारित संस्थाको रुपमा विकसित गर्दै लैजानका लागी विगतका उपलब्धिहरुलाई संस्थागत गर्ने तथा वर्तमान र भावी चुनौतिहरुलाई सम्बोधन गर्नका लागि सबैजना इमान्दार र सिर्जनात्मक हुनु पर्ने उनले बताए ।
प्रधानसेनापति थापाले सोही अवसरमा नेपाली सेनाले अघी सारेको ३+१ अपरेशनल कमाण्ड अवधारणाको आवश्यकता र उपादेयता एवं नेपालको सन्दर्भका यसको महत्वको बारेमा समेत प्रस्ट पारे । सोही आधारमा संगठनको पूनर्संरचना समेत गरी सफल कार्यान्वयन गर्नु पर्ने आवश्यकता औंल्याए ।
नेपाली सेनामा संचालन हुने सबैभन्दा उच्च स्तरको उक्त तालिम नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा वि.सं. २०७१ सालबाट शुरु भएको हो । नेपाली सेनाका महासेनानी दर्जाका अधिकृतहरु मात्र समावेश गरी संचालन गरिने उक्त तालिममा ३० जना महासेनानीहरुको सहभागीता रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !