- एजेन्सी, माघ २ गते शुक्रबार ।।
- जनप्रभाव न्यूज
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध दाेस्राेपटक ल्याइएकाे महाभियाेग प्रस्ताव त्यहाँको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट पारित भएको छ । यससँगै ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बनेका छन् । उनकै पार्टीका सांसदले पनि महाभियाेगकाे पक्षमा मतदान गरेका छन् ।
गत बुधवार अमेरिकी संसद् भवनमा हूलदङ्गा गर्न प्रोत्साहित गरेको अभियोगमा ट्रम्प विरुद्ध डेमोक्र्याट सांसदहरूले महाभियोग प्रस्ताव प्रस्तुत गरेका थिए । बिबिसीका अनुसार महाभियोग प्रस्तावको पक्षमा २३२ मत परेको छ । महाभियोग पारित हुन २१७ मत आवश्यक गर्नेमा २३२ मत खसेकाे हाे ।
तल्लो सदनमा डेमोक्र्याटिक पार्टीका सांसद २२२ जना रहेका छन् भने ट्रम्पको दल रिपब्लिकनका १० जना सांसदले पनि महाभियोगको पक्षमा मतदान गरेका छन् । रिपब्लिकनका ११७ सांसद मात्र महाभियाेगकाे विपक्षमा देखिए ।
यसअघि तल्लो सदनले सन् २०१९ मा पनि ट्रम्प विरुद्ध महाभियोग पारित गरेको थियो । तर त्यसबेला एकजना पनि रिपब्लिकनले महाभियोगमा साथ दिएका थिएनन् भने माथिल्लाे सदन सिनेटले महाभियाेग पारित नगरेर ट्रम्पलाइ आरोपमुक्त गरिदिएको थियो । यसपटककाे महाभियाेग पनि अब माथिल्लो सिनेटबाट पनि पारित हुनुपर्छ । त्यसको निम्ति दुई तिहाइ बहुमत आवश्यक हुन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !