- धरान,पुस २६ गते आइतबार ।।
- जनप्रभाव – सम्बादाता
एकल महिलाहरुका लागि सञ्चालित एकहप्ते तालिमको क्रममा सहभागीहरुले आधा दर्जन किसिकमका महिलाहरुको श्रृङगारका गहनाहरु बनाएर प्रदर्शन गरेका छन् । एकल महिलाहरु लाई आत्मनिर्भरताका लागि महिलाहरुको ऋङगार सामाग्री बनाउने शिपमुलक तालिम उनिहरुले बनाएका गहना समापनको अवसरमा शनिवार प्रदर्शन गरिएको हो ।
तालिम एकल महिला समुह सुनसरीको आयोजनामा अघिल्लो आइतवार देखी शुरु गरिएको थियो । तालिम धरान–१२ वडा कार्यालयको आर्थिक सहयोगमा सञ्चालन गरिएको हो । एकल महिलाहरु लाई घरेमा बसेर आय आर्जन गर्न सकिने शिप प्रदान गर्न सञ्चालन गरिएको तालिमका क्रममा उनिहरुले मोती जडित चुरी, साडीमा लगाउने पिन, रानी हार, लकेट सहित रंगीचंगी पत्थर जडित मोती माला बनाएका हुन् ।
समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा प्रमुख अतिथि धरान–१२ की महिला वडा सदस्य चुन्नु थापाले हप्तादिनमा सहभागीहरुले ऋंगारका विभिन्न गहना बनाएरै देखाएकोमा खुशी प्रकट गरिन् । सहभागीहरुले सिकेको कुरालाई पेशा बनाएर आर्थिक आम्दामी गर्नसक्ने बनाएकोमा वडा कार्यालयको सहयोग सफल भएको बताइन् । उनले आउँदा दिनहरुमा पनि वडा कार्यालय बाट महिला हक, हितका साथै महिला उपयोगी शिपमुलक कार्यक्रमहरु गर्न प्रयास जारी राख्ने प्रतिबद्धता व्यक्त गरिन् ।
नेपाली कांग्रेसकी महिला नेतृ मिना पुलामीले वडा १२ कार्यालयले एकल महिलाहरु लाई आर्थिक रुपमा आत्मनिर्भर बन्न सहयोग पुग्ने शिपमुलक तालिमको आयोजना गरेर उदाहरणिय काम गरेकोमा प्रशंसा व्यक्त गरिन् । नेकपाकी महिला नेतृ नैनकला न्यौपानेले तालिममा सिकेको शिपलाई थोर बहुत लगानी खोजेर आम्दामीको माध्यम बनाउन सहभागी महिलाहरु लाई सुझाव दिइन् । सहभागी सरस्वती खातीले तालिमले महिलाहरु लाई घरमै बसेर पनि आम्दामी मुलक काम गर्न सकिने आत्मविश्वास बढाएको बताइन् ।
एकल महिला समुहकी अध्यक्ष इन्दु श्रेष्ठको सभापतित्वमा भएको समापनमा उनले समुहले एकल महिलाहरु लाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन अन्य वडाहरुमा पनि तालिम सञ्चालन गर्ने बताइन् । समापन कार्यक्रम श्रेष्ठकै सभापतित्वमा भएको हो । धरान–१२ की वडा सदस्य शान्ति त्रिखत्रीले वडा कार्यालय संग सहकार्य गरेको एकल महिला समुहलाई धन्यवाद दिइन् । स्वागत मन्तव्य एकल महिला समुहकी शान्ता अधिकारीले गरेकी थिइन् ।
कार्यक्रम सञ्चालन एकल महिला जिल्ला सचिव अमृता रामदामले गरेकी थिइन् । तालिममा राष्ट्रिय महिला महासंघ सुनसरी जिल्ला अध्यक्ष संगीता सुब्बा प्रशिक्षक थिइन् । उक्त अवसरमा तालिमका सहभागीहरु लाई अतियिहरु बाट प्रमाणपत्र वितरण गरिएको थियो । उक्त तालिमको उद्घाटन अघिल्लो आइतवार धरान वडा १२ का अध्यक्ष टंकबहादुर राईले गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !