-
काठमाडौं,पुस २४ गते शुक्रबार ।।
-
जनप्रभाव : सम्बादाता
भारतमा बर्डफ्लु देखिएपछि नेपाल सरकारले तत्कालका लागि कुखुरा तथा मासुजन्य वस्तु आयातमा रोक लगाएको छ । भारतका विभिन्न ठाउँमा फैलिएको बर्ड फ्लु नेपाल भित्रिन नदिन सरकारले तत्कालका लागि आयातमा रोक लगाएको हो ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको पशुसेवा विभागले देशभरका आठवटा क्वरेण्टीन कार्यालयलाई पत्र पठाएर आयातमा रोक लगाउन निर्देशन दिएको छ ।
विगत १ सातादेखि भारतका हिमाचल प्रदेश, केरलालगायत विभिन्न राज्यमा हजारौं संख्यामा चरा तथा हाँसहरू मर्न थालेपछि नेपालमा पनि सर्तकता स्वरूप यस्तो कदम चालिएको हो ।
बर्ड फ्लु भित्रिन नदिन काँकडभिट्टा, विराटनगर, जनकपुर, वीरगञ्ज, काठमाण्डौ, भैरहवा, नेपालगञ्ज र गड्डाचौकीका पशु क्वरेण्टीन कार्यालयले जाँच गर्न थालिसकेको मन्त्रालयले जनाएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पनि सूचना जारी गर्दै कुनै पनि पक्षी तथा मासुजन्य वस्तुहरू देशबाहिर निर्यात तथा आयात गर्न बन्द गरिएको बताएको छ । त्यसका लागि काँकडभिट्टादेखि गड्डाचौकीसम्मका क्वारेन्टाइन स्थलहरूलाई निर्देशन दिइएको छ ।
मन्त्रालयले पशु सवास्थ्य तथा पशु सेवा ऐन २०५५ बमोजिम हालका लागि आयात निर्यात बन्द गरेको मन्त्रालयका प्रवक्ता डा श्रीराम घिमिरेले बताएउनुभयाे । यदि कसैले अवैध रूपमा मासुजन्य वस्तु भित्र्याएकाे पाइएमा बर्डफ्लु रोग निर्देशिका आदेश २०६४ बमोजिम कारबाही हुने उहाँले जानकारी दिनुभयाे।
फेसबुकबाट तपाईको प्रतिक्रिया !