- हरि अधिकारी
- विराटनगर ,पुस २४ गते शुक्रबार ।।
मोरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको विप्लव समूहको कार्यकर्ताबाट हत्या भएको बिहीबार एक महिना पूरा भएको छ । तर अहिलेसम्म उनको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।
प्रहरी स्रोतका अनुसार हत्यामा संलग्न ६ जना पुरुषको पहिचान भएको छ । तिनीहरुको खोजीमा प्रहरी टोली परिचालन भएको छ । स्रोतका अनुसार शिक्षक हत्यामा मोरङका २ जनाको संलग्नता छ । ताप्लेजुङ, भोजपुर, संखुवासभा र खोटाङका एक–एक जना छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले घटना संलग्नको खोजी तीब्र बनाइएको बताए । ‘हामी घटनामा संलग्नको खोजी कार्य गरिरहेका छौं’ उनले भने, ‘सुरक्षा सतर्कता पनि उच्च बनाएका छौं ।’
-
परिवार विस्थापित, गाउँमा त्रास
शिक्षक श्रेष्ठको हत्यापछि उनकी पत्नी मिक्लाजुङ गाउँपालिका– २ मा रहेको घरमा बसाई सरेकी छन् । यसअघि श्रेष्ठ र उनकी पत्नी धनकुमारी मिक्लाजुङ–१ बर्खेमा बस्दै आएका थिए ।
पतिको हत्यापछि धनकुमारी छोरा छत्रको घरमा बस्न थालेकी वडा अध्यक्ष नरबहादुर राईले जानकारी दिए । राईका अनुसार हत्यापछि गाउँमा फैलिएको त्रास अझै कायम छ ।
त्यस क्षेत्रमा हालै सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको युनिट राखेको छ । सुरक्षा युनिट रहेपनि डर भने रहिरहेको वडाध्यक्ष राईले बताए ।
मिक्लाजुङको उत्तरी विकट क्षेत्रमा पातलो बस्ती छ । सशस्त्र द्वन्द्वको समयमा तत्कालिन माओवादीको प्रभाव क्षेत्र रहेको मिक्लाजुङको माथिल्लो क्षेत्र पछिल्लो समय विप्लव समूहको सेल्टर मानिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !