- काठमाडौं,पुस २२ गते बुधबार ।।
- जनप्रभाव – सम्बादाता
प्रतिनिधि सभाको विघटनविरुद्ध परेका रिटमा आजबाट सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई शुरु हुँदैछ। सोही सन्दर्भमा आफूले नेम्वाङलाई सम्झेको गगनले ट्वीटरमा लेखेका छन्।
‘प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस शुरु हुँदैछ। म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु,’ उनले भनेका छन्, ‘जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससँग जोडिएका सन्दर्भ र त्यस समयका सभा समिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ।’
नेम्वाङले अदालतमै जमेर बहस गर्ने अनुमान आफ्नो रहेको उल्लेख गर्दै गगनले तर त्यसो हुन नसकेको बताएका छन्। ‘मलाई लागेको थियो यो संकटमा मेरो अध्यक्षले अदालतमै उभिएर-”श्रीमान केपी शर्मा ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक हो। मेरो नेतृत्वमा बनाएको संविधानमा यस्तो प्रावधान लेखिएकै छैन र विधायिकी मनसाय यस्तो हुँदै होइन”भनेर सन्दर्भसहित जमेर बहस गर्नुहुनेछ,’ नेता थापाले दोस्रो थ्रेडमा भनेका छन्।
तर नेम्वाङ प्रश्नबाट भागेर लुकेर बसेको आरोप उनले लगाएका छन्। ‘अपसोच उहाँ त कसैले केही सोध्लान की भनेर लुकेर बस्नुभएको छ, प्रश्नबाट भाग्नुभएको छ। आफैले बनाएको संविधानमा ”कु” हुँदै गर्दा त्यसविरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको ‘निरिहता’ देख्दा दया लागेको छ,’ थापाले तेस्रो थ्रेडमा भनेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया !