बाँके,पुस २१ गते मंगलवार ।।
जनप्रभाव – सम्बादाता
जिल्ला प्रहरी कार्यालय बाँकेले हालसम्म ४ सय ७८ जना फरार अभियुक्तहरुलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न अपराधका घटनामा संलग्न भएका व्यक्तिलाई पक्राउ गरि सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलनको आयोजना गरी बाँकेमा विभिन्न अपराधका घटनामा संलग्न भएका व्यक्तिहरुलाई सार्वजनिक गरेको हो ।
प्रहरीले डुडुवा गाउँपालिका १ स्थित दिपक कुमार चौधरीलाई हतियारसहित पक्राउ गरेको छ ।

चौधरीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरीको टोलीले उनैले संचालन गरेको पसलबाट खानतलासी गर्द चौधरीले कम्मरको दायाँतर्फ बेल्टले च्यापेर राखेको कटुवा पेस्तोलसहित पक्राउ गरेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) ओम बहादुर रानाले जानकारी दिनुभयो ।

यस्तै प्रहरीले मोटरसाइकल चोरीमा संलग्न नेपालगन्ज ८ का विपिन बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । गणेशपुरको तन्नु पान पसल अगाडी रोकिराखेको मोहम्मद जसगरको भे १० प ४७८९ नम्वररको मोटरसाइकल विपिनले चोरेको अभियोग छ । उनीमाथि थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । यस्तै भन्सार छली भित्र्याइएको विभिन्न सामाग्रीसहित एकजना पक्राउ परेका छन् ।
डुडुवा गाउँपालिका १ खडौचा नाका हुँदै भारतको रुपैडिया बस्नेत राहुल गुप्ता र सकिल खानले भारतीय नम्वरको मोटरसाइकलमा भन्सार छलि नेपाल ल्याउँदै गरेको मोवाइलका कभर, सिसि लगायतको १ लाख ३० हजारको सामान बरामद गरेको प्रहरीले फेला पारेको हो ।
चालू आर्थिक वर्षमा मात्रै १ करोड १० लाख ७२ हजार २ सय ७ रुपैयाँ राजश्व जम्मा भएको पत्रकार सम्मेलनमा बाँके प्रहरीले जनाएको छ । यस्तै प्रहरीले जानकी गाउँपालिका २ का रोहित वर्मा, नेपालगन्ज १८ का प्रच्युत प्रसाई र सोही स्थानका बसन्ती योगीको मोवाइल हराएको सूचनाका आधारमा खोजतलास गर्दा फेला परेको पनि प्रहरीले जनाएको छ ।
ती मोवाइल सम्बन्धित व्यक्तिलाई बुझाइसकिएको पनि प्रहरीले जानकारी दिएको छ । यस्तै बाँके प्रहरीले फरार अभियुक्तलाई पनि पक्राउ गरेको जनाएको छ । यौन दुरुपयोगको मुद्दामा अदालतबाट ६ महिना कैद सजाए भएर फरार भएका नेपालगन्ज १ बस्ने आकाश सार्कीलाई पक्राउ गरिएको हो ।
उनलाई २०७५ साल फागुन २९ गते अदालतले दोषी ठहर गर्दै ६ महिना कारागार चलान गरेको थियो ।योसँगै बाँके प्रहरीले हालसम्म ४ सय ७८ जना फरार अभियुक्तहरुलाई पक्राउ गरेको छ ।

